बाँकेमा नेपाली कांग्रेसको ‘जरा अभियान’ सुरु, १२ हजार सदस्यता वितरण लक्ष्य

मंगलबार, वैशाख १५, २०८३
Honor 600 pro

नेपालगञ्ज । नेपाली कांग्रेसले ‘जरा अभियान’ सुरु गरेको छ । बैशाख १ गतेदेखि एक महिनासम्म सञ्चालन हुने ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण, सांगठनिक गतिविधि तथा नागरिक संवाद कार्यक्रम हुनेछन् । ‘जरा अभियान’ बारे जानकारी दिने उद्देश्यले नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरेको छ ।

अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । बाँकेमा पनि पार्टीका केन्द्रीय सदस्य केशवराज शर्मा आचार्य र लुम्बिनी प्रदेश सदस्य मोतिलाल भण्डारी प्रतिनिधिका रुपमा खटिएका छन् । जिल्ला सभापति नारायण प्रसाद गौडेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य आचार्यले ‘जरा अभियान’ ले कांग्रेसको जीवनमा रुपान्तरण ल्याउने दाबी गरे । यो अभियानले कांग्रेसलाई बलियो र सुदृढ बनाउने उनको उद्घोष छ ।

अर्का प्रतिनिधि भण्डारीले बाँकेमा १२ हजार क्रियाशील सदस्यता वितरण गर्ने लक्ष्य रहेको जानकारी गराउँदै अभियानको मूल उद्देश्य पार्टीको क्रियाशील सदस्यता प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउनु रहेको बताए। सभापति गौडेलले ‘जरा अभियान’ ले पार्टीलाई पुनर्जागृत गर्ने बताए । बाँके कांग्रेस यसमा प्रतिबद्ध भएर लाग्ने उनको भनाई छ । कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गरी जरा अभियान थालेको हो।

पत्रकार भेटघाट कार्यक्रममा उपसभापति गोपाल प्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव विनोद कुमार थारु, जिल्ला सदस्य उमा थापा मगर लगायत उपस्थित थिए । कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार निरज कुमार गौतमले गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  २२:३९
प्रतिक्रिया दिनुहोस्