नेपालगन्जको राँझा विमानस्थलबाट नि:शुल्क 'सटल बस' सेवा सुरु

मंगलबार, वैशाख १५, २०८३

बाँके । नेपालगन्ज विमानस्थल कार्यालयले हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले राँझा विमानस्थलबाट नि:शुल्क  'सटल बस' सेवा सञ्चालनमा ल्याएको छ।

नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार विमानस्थल परिसरदेखि करिब डेढ किलोमिटर दूरीमा रहेको राँझा चोकसम्म यात्रुलाई ओसारपसार गर्न आज बिहानदेखि सटल बस सेवा सुरु गरिएको हो। उक्त बसले विमानस्थलमा आउने तथा त्यहाँबाट प्रस्थान गर्ने यात्रुलाई लक्षित गरी नियमित रूपमा सेवा दिने जनाएको छ।

सेवा सुरु भएको पहिलो दिनमै काठमाडौँबाट आएका बुद्ध एयरका यात्रुलाई सटल बसमार्फत राँझा चोकसम्म पुर्‍याइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

यस सेवाले यात्रुलाई सहज, सुरक्षित तथा व्यवस्थित यातायात सुविधा उपलब्ध गराउने विश्वास गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

त्यसैगरी आजदेखि विमानस्थलको नयाँ टर्मिनल भवनबाट यात्रुलाई प्रवेश गराइएको छ। आजदेखि संचालन गरिएको भवनबाट पहिलो दिन काठमाडौंबाट नेपालगन्ज ओर्लिएका यात्रुहरूलाई बाहिर ल्याइएको हो।

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १०:२४
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह