सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । चालु वैशाख महिनाको सुरुआती १२ दिनमै देशभर विभिन्न विपद्जन्य घटनामा परेर २३ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म कुल ४२२ वटा घटना दर्ता भएका छन्।
यी घटनामा ७३ जना घाइते भएका छन् भने ५२७ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा धेरै मानवीय क्षति आगलागीका कारण भएको छ, जसमा सात जनाको मृत्यु भएको छ।
यसैगरी चट्याङ र हावाहुरीका कारण समान रूपमा चार–चार जनाको ज्यान गएको छ। लेक लाग्ने (उच्च हिमाली क्षेत्रमा हुने समस्या) र डुङ्गा दुर्घटनामा दुई–दुई जनाको मृत्यु भएको छ। वन डढेलो, सर्पदंश, जनावरको आक्रमण र पहिरोबाट पनि एक–एक जनाले ज्यान गुमाएका छन्।
घाइते हुनेमध्ये पनि आगलागी नै प्रमुख कारण बनेको छ, जसबाट २४ जना प्रभावित भएका छन्। सर्पदंशबाट १९ जना र जनावरको आक्रमणबाट १३ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
विपद् जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गर्दै प्राधिकरणले कुनै पनि घटना घटेमा तुरुन्त सम्बन्धित निकाय—प्रहरी वा प्रशासन कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ।