राप्रपाका उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

शुक्रबार, वैशाख ११, २०८३
Honor 600 pro

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा उपाध्यक्ष विक्रम पाण्डे लाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पूर्वमन्त्री समेत रहेका पाण्डेमाथि आफू अनुकूल ठेक्का पार्ने उद्देश्यले ई–बिडिङ प्रणालीको वेबसाइट ह्याक गरेको आरोप लागेको छ। सोही आरोपमा अनुसन्धान अगाडि बढाइएको जनाइएको छ।

पाण्डे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्। उनी लामो समयदेखि राप्रपाको शीर्ष नेतृत्वमा सक्रिय रहँदै आएका छन्।

यसअघि पनि पाण्डे विवादमा परेका थिए। २०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन निर्माण कार्य भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सो प्रकरणमा उनले ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा पाएका थिए।

हाल प्रहरीले पाण्डेसँग सम्बन्धित साइबर अपराध तथा ठेक्का प्रक्रियासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १९:४४
प्रतिक्रिया दिनुहोस्