'मान्छे होइन, फाइल हिँड्ने' प्रणालीसहित राप्ती सोनारी गाउँपालिका डिजिटल युगमा प्रवेश

बुधबार, वैशाख २, २०८३

बाँके — सुशासन, पारदर्शिता र सेवाको प्रभावकारितालाई केन्द्रमा राख्दै राप्ती सोनारी गाउँपालिकाले मिति २०८३ साल वैशाख ३ गतेदेखि पूर्ण रूपमा “डिजिटल पालिका” कार्यान्वयनमा ल्याउने भएको छ। यससँगै गाउँपालिकाले परम्परागत कागजी प्रक्रिया अन्त्य गर्दै प्रविधिमा आधारित सेवा प्रवाहको नयाँ अध्याय सुरु गरेको छ।

अब गाउँपालिकाका नागरिकहरूले घरमै बसेर आफ्नो KYC (Know Your Customer) विवरण अनलाइन प्रणालीमा दर्ता गर्न सक्नेछन्। KYC दर्ता भएपछि नागरिकहरूले विभिन्न सेवा—जस्तै सिफारिस, दर्ता, प्रमाणपत्र, निवेदन आदि—का लागि आफैं आवेदन दिन सक्नेछन्। यसले पालिकामा बारम्बार धाउनुपर्ने बाध्यता अन्त्य गर्दै समय, खर्च र श्रमको बचत गर्नेछ।

यस प्रणालीको सबैभन्दा विशेष पक्ष “मान्छे होइन, फाइल हिँड्ने” अवधारणा हो। नागरिकले एकपटक आवेदन दिएपछि फाइल स्वतः सम्बन्धित शाखामा डिजिटल रूपमा पठाइनेछ। अब कुनै सेवाग्राहीलाई फाइल बोकेर शाखा–शाखा धाउनुपर्ने छैन। प्रणालीले आफैं आवश्यक प्रक्रिया अघि बढाउँदै फाइललाई सम्बन्धित शाखा तथा कर्मचारीसम्म पुर्‍याउनेछ।

त्यसैगरी, “फाइल ट्र्याकिङ प्रणाली” मार्फत नागरिकहरूले आफ्नो आवेदन कुन शाखामा पुगेको छ, कसले हेर्दैछ, र प्रक्रिया कुन चरणमा छ भन्ने जानकारी रियल–टाइममै हेर्न सक्नेछन्। यसले सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र नागरिकको विश्वासलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्षले डिजिटल पालिका अभियानलाई स्थानीय तहको रूपान्तरणको ऐतिहासिक कदमका रूपमा वर्णन गर्दै भन्नुभयो, “हामीले ‘स्मार्ट र सुशासित पालिका’ निर्माण गर्ने लक्ष्यसहित यो अभियान सुरु गरेका हौं। अब नागरिकले लाइनमा बस्नुपर्ने, कर्मचारी खोज्दै हिँड्नुपर्ने वा फाइल हराउने जस्ता समस्या अन्त्य हुनेछन्। घरमै बसेर सेवा पाउने व्यवस्था हाम्रो प्राथमिकता हो।”

प्रमुख प्रशासकीय अधिकृतले प्रणालीले प्रशासनिक दक्षता उल्लेखनीय रूपमा बढाउने बताउँदै भन्नुभयो,-“डिजिटल प्रणालीले कामको गति तीव्र बनाउनेछ, कागजी झन्झट घटाउनेछ र अभिलेखहरू सुरक्षित रूपमा व्यवस्थापन गर्न मद्दत गर्नेछ। सबै कर्मचारीलाई आवश्यक तालिम दिइसकिएको छ र प्रणाली परीक्षण सफल भइसकेको छ। अब सेवा प्रवाहमा ढिलाइ र त्रुटि न्यून हुनेछ।”

सूचना प्रविधि अधिकृत जनार्दन पौडेलले नागरिक र पालिकाबीचको दूरी घटाउने विश्वास व्यक्त गर्दै भन्नुभयो,-“यो प्रणालीले नागरिकलाई पूर्ण रूपमा सशक्त बनाउनेछ। KYC दर्ता, अनलाइन सेवा आवेदन, फाइल ट्र्याकिङ, गुनासो व्यवस्थापन लगायत सबै सुविधा एउटै प्लेटफर्ममा उपलब्ध हुनेछन्। नागरिकले आफ्नो सेवाको अवस्था आफैं हेर्न सक्नेछन्, जसले पारदर्शिता बढाउँछ।”

गाउँपालिकाले डिजिटल प्रणालीको प्रभावकारी प्रयोगका लागि नागरिक अभिमुखीकरण तथा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ। साथै, इन्टरनेट पहुँच विस्तार, प्राविधिक सहयोग र सेवा केन्द्रहरू मार्फत सबै वर्गका नागरिकलाई समेट्ने तयारी गरिएको छ।

यस पहलसँगै राप्ती सोनारी गाउँपालिका डिजिटल सुशासनतर्फ अग्रसर हुँदै स्थानीय तहमा प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह सुधार गर्ने नमुना बन्ने अपेक्षा गरिएको छ। “मान्छे होइन, फाइल हिँड्ने” अवधारणाले अब प्रशासनलाई नागरिकको घरदैलोमै पुर्‍याउनेछ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १२:०६
प्रतिक्रिया दिनुहोस्