सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को रनिङ्ग ट्रफि प्रशिक्षण प्रतिष्ठान मातातिर्थलाई

सोमबार, चैत ३०, २०८२

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को रनिङ्ग ट्रफि राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थले जितेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा चैत्र ३० गते सम्पन्न भएको सो प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १७ पदकसहित राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ प्रथम भएको हो ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय ७ स्वर्ण, ८ रजत र ६ कास्य कास्यसहित द्वितीय र नं. १ बराह बाहिनी मुख्यालय सुनसरी ४ स्वर्ण २ रजतसहित तृतीय भएको हो ।प्रतियोगिताको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विजयी टिम तथा खेलाडीहरुलाई ट्रफि, मेडल प्रदान गर्नुकासाथै उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा अफिसियल र नेपाल एपीएफ क्लवलाई सहयोग पु¥याउनुहुने विभिन्न संघसंस्थाका महानुभावहरुलाई पुरस्कार, कदरपत्र र प्रशंसापत्र समेत प्रदान गरेका थिए।

उहाँले सशस्त्र प्रहरी बल नेपालले आफ्नो मुख्य जिम्मेवारीको अतिरिक्त खेलकुद क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा निरन्तर योगदान दिदै आएको बताउँदै यस्ता प्रतियोगिताहरुले संगठनभित्र लुकेर रहेका प्रतिभाहरुलाई पहिचान गर्नुकासाथै खेलाडीहरुको अनुशासन, कर्तव्यपरायणता, नेतृत्व क्षमता र सामुहिक भावनको विकासमा महत्वपूर्ण खेल्ने बताएका हुन् ।

यस्ता प्रतियोगिताले सामूहिक सोच, एकता, समर्पण र अन्तिम क्षणसम्म संघर्ष गर्ने भावना विकास गर्दै संगठनको उद्देश्य तथा राष्ट्रिय हितप्रति दृढ प्रतिवद्धता कायम राख्ने उल्लेख गर्दै महानिरीक्षक अर्यालले भने–‘खेलकुदलाई केवल प्रतिस्पर्धा वा मनोरञ्जनको रुपमा मात्र सिमित गरेर हेर्नु हुँदैन, खेलकुद क्षमता अभिबृद्धि गर्ने, तीव्र निर्णय, क्षमता, परिस्थितीअनुसार अनुकुल हुने दक्षता, समन्वय तथा संयमित आक्रामकता जस्ता गुणहरु सिकाउने  आधारस्तम्भ हो ।’

उनले खेलकुदले शारिरीक शक्ति र सहनशिलता अभिबृद्धि गर्नुकासाथै संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुमा समेत उच्च मनोवलकासाथ कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी र मानसिक तनावलाई सन्तुलित र स्वस्थ तरिकाले व्यवस्थापन गर्न सहयोग पु¥याउने बताउनुहुँदै सम्पूर्ण खेलाडीहरुले खेल क्षेत्रमा आफ्नो निरन्तर सुधार, उच्च समपर्ण र अनुशासनकासाथ अघि बढ्दै संगठन र राष्ट्रको गौरव बढाउन अग्रसर रहनुपर्ने बताए ।

महानिरीक्षक अर्यालले उपलब्धी हासिल गर्न निरन्तर परिश्रम, अनुशासन र समर्पणको प्रतिफल रहेको उल्लेख गर्नुहुँदै पराजित हुने खेलाडीहरु हार अन्त्य होईन, सुधार र आत्ममूल्यांकनको अवसरको रुपमा लिई खेलमैदानमा खेलेको अनुभवबाट पाठ सिक्दै अगाडि बढियो भने एक दिन सफलता पक्कै मिल्ने बताए।

उनले खेलकुद केवल शारिरीक स्फूर्तीको लागि मात्र नभई धैर्यता, त्याग, अनुशासन र प्रतिस्पर्धात्मक क्षमतालाई अभिबृद्धि गर्दछ जुन एक उत्कृष्ट सुरक्षाकर्मीको मूल चरित्र रहेको बताउनुहुँदै कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई आफ्ना मातहतका कर्मचारीहरुलाई खेकुदप्रति रुची जागृत गराई उपयुक्त वातावरण सिर्जना गर्न समेत सोही अवसरमा निर्देशन दिए ।

नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत २४ गतेदेखि संचालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको थियो भने प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्स विधाका खेलहरु समावेश गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, विभिन्न खेलकुद संघसंस्थाका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्