२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !

शुक्रबार, चैत २७, २०८२

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए । रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो ।

राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको हो । नेकपा एमालेले भने यो निर्वाचनमा भाग लिएन । आज सदनमा २५६ सांसद उपस्थित थिए ।  यीमध्ये रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरे । उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे । राप्रपाकी सरस्वतीको पक्षमा जम्मा ५ मत खस्यो । उनलाई भोट नहाली ३७ जना भने तटस्थ बसे ।

नेपालकै कम उमेरकी उपसभामुख बनेकी २५ वर्षकी रुबीकुमारी अहिलेको संसदकै कान्छी सदस्य पनि हुन् । श्रम संस्कृति पार्टीले उनलाई मधेसी महिला कोटामा समानुपातिकको बन्दसूचीमा राखेको थियो । धनुषाको सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीसँग कुनै पनि राजनीतिक पृष्ठभूमि थिएन ।

उनको काँधमा ४ बहिनी र २ भाइको जिम्मेवारी थियो । रुबीका बाबु सोगराथ ठाकुर अहिले पनि वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । आमा रेणु गृहणी हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्