सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । कर्णाली प्रदेशमा फेरि एक दर्दनाक सडक दुर्घटना भएको छ। जुम्लाबाट नेपालगन्जतर्फ बिरामी बोकेर आउँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटनाग्रस्त हुँदा दुई जनाले ज्यान गुमाएका छन् भने अन्य दुई जना घाइते भएका छन्।
हिमा गाउँपालिकाबाट छुटेको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित मेयरखोला नजिकै सडकबाट करिब २५ मिटर तल खसेको थियो। दुर्घटनामा परी हिमा–६ पातरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र एम्बुलेन्स चालक, हिमा–७ मर्चीगाउँका २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भीमबहादुर आफ्ना ७१ वर्षीय बुबा कलबहादुर अधिकारीलाई थप उपचारका लागि नेपालगन्ज लैजाँदै थिए। तर बाटोमै भएको दुर्घटनाले उनको ज्यान लिएको हो।
दुर्घटनामा परेका बिरामी कलबहादुर अधिकारी र हिमा–७ का २० वर्षीय लोकेन्द्र शाही घाइते भएका छन्। उनीहरूको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार कलबहादुरको खुट्टामा चोट लागेको छ भने लोकेन्द्रको कान र पेटमा सामान्य चोट लागेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा बाक्लो हुस्सुका कारण सडक दृश्यता कम हुँदा दुर्घटना भएको अनुमान गरेको छ।