सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । विभिन्न देशका राजदूतहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहले सामूहिक छलफल गरेका छन् । प्रधानमन्त्री शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहिलो पटक विदेशी कूटनीतिज्ञहरूसँग यस्तो भेटघाट भएको हो । बुधबार मध्याह्न सिंहदरबारमा आयोजित छलफलमा परराष्ट्रमन्त्री शिशिर खनालको पनि उपस्थिति थियो।
परराष्ट्र मन्त्रालयका अनुसार देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका मुख्य प्राथमिकताका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले यो सामूहिक भेटघाट आयोजना गरिएको हो। छलफलका क्रममा सहभागी राजदूतहरूले नयाँ सरकारको कार्यदिशा, आगामी योजना र प्राथमिकताका विषयमा विशेष चासो राखेका थिए ।
जवाफमा प्रधानमन्त्री शाहले आफ्नो सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे। उनले नेपालको परराष्ट्र नीतिलाई सन्तुलित रूपमा अगाडि बढाउने र विकासका साझेदारहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।