फुटपाथ निर्माण गर्न नेपालगञ्जको धम्बोझी-पुष्पलाल सडक-खण्डमा पनि डोजर चल्यो

बुधबार, चैत २५, २०८२

नेपालगञ्ज । नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध संरचना हटाउन थालिएको छ । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । 

अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । नगर स्तरीय तथा प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म र आयल निगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोक जाने बाटोमा दुई मिटर चौडा फुटपाथ निर्माण तथा बृक्षारोपण गर्ने योजना रहेको नगर प्रमुख विष्टले बताए। राँझा क्षेत्रमा चैत १५ गतेदेखि नै काम अघि बढिसकेको छ ।

२ करोड १५ लाखमा ठेक्का खोलेकोमा गाउँले कन्स्ट्रक्सन/पञ्चदेवी निर्माण सेवा र ए एण्ड ए कन्स्ट्रक्सन जेभीले २ करोड ७ लाख ९९ हजार २ सय ११ रुपैयाँ ६६ पैसामा ठेक्का सम्झौता गरी फुटपाथ निर्माण थालेको नेपालगञ्ज उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर भुपेन्द्र बोहराले जानकारी दिए । सम्झौता अवधि असार २० गतेसम्म छ ।

३९० मिटर एअरपोर्ट आयल निगमदेखि दक्षिण र २२०० मिटर धम्बोझीदेखि कारकाँदोसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरिने बोहराले बताए । 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्