सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । दाङको भालुबाङमा चितुवाको आक्रमणमा घाइते भएका दुई जनालाई प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज बिहान ११ बजे राप्ती गाउँपालिका-१ भालुबाङ अस्पताल नजिकै चितुवाको आक्रमणमा परेर घाइते भएका सोही स्थानकै ५९ वर्षीय तिलक खड्का र ३० वर्षीय सुशील बिष्ट घाइते भएका थिए।
दुई जना चितुवाको आक्रमणमा परेको खवर पाए लगत्तै घटनास्थलबाट ५ सय मिटर टाढा रहेको इलाका प्रहरी कार्यालय भालुबाङबाट प्रहरी वरिष्ठ हवल्दार मीन बहादुर भण्डारीको कमाण्डमा खटिएको ४ जनाको टोलीले घाइते दुबैको उद्धार गरेर अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दाङ प्रहरीका अनुसार तुरुन्तै प्रहरी र स्थानीयको सहयोगमा आक्रमण गर्ने चितुवालाई नियन्त्रणमा लिएर डिभिजन बन कार्यालय लमहीलाई बुझाइएको हो। चितुवाको आक्रमणमा परेका तिलकको ओठ र दाहिने हातमा चोट लागेको छ भने सुशिलको दाहिने हातमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।
दुबैको भालुबाङ अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।