सर्वोच्चको आदेश: केपी शर्मा ओली र रमेश लेखकको मुद्दाको अनुसन्धान समयमै सक्नु,अन्यथा थुनामुक्त गर्नू

सोमबार, चैत २३, २०८२
Honor 600 pro

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक सम्बन्धी मुद्दामा महत्वपूर्ण आदेश दिएको छ। अदालतले उनीहरूलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरे पनि तोकिएको समयसीमाभित्र अनुसन्धान सक्न निर्देशन दिएको हो।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेल को संयुक्त इजलासले २६ चैतभित्र अनुसन्धान प्रक्रिया टुङ्ग्याउन आदेश दिएको छ। यदि सो अवधिसम्म पनि अनुसन्धान पूरा हुन नसकेमा भने उनीहरूलाई रिहा गर्नुपर्ने अदालतको स्पष्ट भनाइ छ।

अदालतले आफ्नो आदेशमा फौजदारी कार्यविधि संहिताअनुसार आवश्यक प्रक्रिया पूरा गरी हिरासतबाहिर राख्दै थप अनुसन्धान अगाडि बढाउन सकिने उल्लेख गरेको छ।

भदौ २३ मा भएको ‘जेनजी आन्दोलन’का क्रममा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न पर्याप्त पहल नगरेको आरोपमा दुवै नेतालाई १४ चैतमा पक्राउ गरिएको थियो। हाल उनीहरूलाई ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौं को अनुमति लिएर प्रहरी हिरासतमा राखिएको छ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्