सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका कर्मचारीहरूको अनुपस्थितिप्रति कडा असन्तुष्टि जनाउँदै तुरुन्त कार्यस्थलमा उपस्थित हुन निर्देशन दिएको छ।
मन्त्रालयले सोमबार ‘अत्यन्त जरुरी सूचना’ सार्वजनिक गर्दै सरुवा वा पदस्थापन भएका कर्मचारीहरू, विशेष गरी प्रमुख प्रशासकीय अधिकृतहरू, समयमै खटाइएको ठाउँमा नपुग्दा सेवा प्रवाहमा गम्भीर समस्या देखिएको उल्लेख गरेको छ।
स्थानीय तहहरूबाट निरन्तर रूपमा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित रहने गुनासो आएपछि मन्त्रालयले यस्तो कदम चालेको हो। नियमित हाजिरी नहुँदा सर्वसाधारणले पाउनुपर्ने सेवा प्रभावित हुनुका साथै स्थानीय सरकारको दैनिक कार्य सञ्चालनमै अवरोध पुगेको मन्त्रालयको निष्कर्ष छ।
मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गतको प्रावधान स्मरण गराउँदै सबै सम्बन्धित कर्मचारीलाई यथाशीघ्र आ-आफ्नो कार्यस्थलमा पुगेर जिम्मेवारी सम्हाल्न आग्रह गरेको छ। साथै, तोकिएको स्थानमा नजाने वा सेवा प्रवाहमा असर पर्ने गरी लापरवाही गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।