सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । आज सङ्घीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ भने राष्ट्रिय सभाको बैठक मध्याह्न सवा १२ बजे सिंहदरबारमा बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।
आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा महत्वपूर्ण अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। ती अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ रहेका छन्। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार यी प्रस्तावहरूमाथि आजै सदनमा छलफल हुनेछ।
राष्ट्रिय सभाको बैठकमा आज उपाध्यक्ष पदको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। बैठकमा राष्ट्रिय सभा सदस्य प्रेमप्रसाद दङ्गालले लिलाकुमारी भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०-०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची समेत तय गरिएको छ। नयाँ सभामुख र संसदीय प्रक्रियाले गति लिएसँगै आजका बैठकहरूलाई निकै चासोका साथ हेरिएको छ ।