आजदेखि मतदाता नामावली दर्ता पुन: शुरु, अनलाइनबाटै दर्ता गर्न सकिने

आइतबार, चैत २२, २०८२
Honor 600 pro

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरेको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सञ्चालनमा ल्याएको छ। गत मङ्सिर ६ गतेदेखि रोकिएको यो प्रक्रियालाई आयोगको चैत १८ गतेको बैठकले आजैदेखि सुचारु गर्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब नागरिकले आधुनिक र प्रविधिमैत्री माध्यमबाट आफ्नो नाम दर्ता तथा विवरण अद्यावधिक गर्न सक्नेछन्।

यसपटक आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकका लागि विशेष सहजता प्रदान गरेको छ। परिचयपत्रको विवरण प्रयोग गरी अनलाइन प्रणालीमार्फत नै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ। यद्यपि, राष्ट्रिय परिचयपत्र नबनाएकाहरूको हकमा भने आयोगको ‘प्रि-इनरोलमेन्ट’ प्रणालीबाट अनलाइन फारम भरी फोटो र औँठाछाप (जैविक विवरण) दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ।

नामावली सङ्कलनका साथै विवरणमा रहेका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, र मृत्यु वा बसाइँसराइअनुसारको विवरण अद्यावधिक गर्ने कार्य पनि अनलाइनबाटै गर्न सकिनेछ। मतदाताले आफ्नो नाम, थर, ठेगाना सच्याउनुका साथै एकै वडाभित्रका पायक पर्ने मतदानस्थलमा नाम सार्न समेत आवेदन दिन सक्नेछन्।

निर्वाचन आयोगले योग्य सबै नागरिकलाई यस प्रक्रियामा सहभागी भई आफ्नो मताधिकार सुरक्षित गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्