सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयनका लागि आज शुक्रबार उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको तालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने दिउँसो २:३० बजे दर्ता क्रमअनुसार उम्मेदवारहरूको सूची प्रकाशन गरिनेछ।
यसअघि बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आगामी चैत २२ गते आइतबारका लागि सभामुखको निर्वाचनको मिति तोकेका थिए। सोही निर्देशनअनुसार संसद् सचिवालयले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी आज मनोनयन दर्ता गर्न लागेको हो।
यसपटकको सभामुख निर्वाचनमा सत्तापक्षीय गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई उम्मेदवार बनाउने आधिकारिक निर्णय गरिसकेको छ। फागुन २१ गते भएको आम निर्वाचन र त्यसपछिको 'नीलो क्रान्ति' का कारण संसद्मा रास्वपाको बलियो उपस्थिति रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने सम्भावना प्रबल देखिएको छ।
जेनजी आन्दोलन पछि बदलिएको राजनीतिक समीकरण र वालेन्द्र साह नेतृत्वको सरकार गठन भएसँगै यो सभामुखको निर्वाचनलाई शक्ति सन्तुलनको दृष्टिकोणले निकै महत्त्वका साथ हेरिएको छ। निर्वाचन प्रक्रिया चैत २२ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सम्पन्न हुनेछ, जहाँ उम्मेदवारहरूका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि मत विभाजन हुनेछ।