रास्वपाको जनमत सिंहदरबार चलाउन होइन, बदल्नका लागि हो: रवि लामिछाने

बिहीबार, चैत १९, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाएको जनमत सरकार चलाउनका लागि मात्र नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताएका छन्। 

प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको प्रतिविम्ब भएको बताए। उनले जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने र जनताले परिवर्तनकै लागि रास्वपालाई रोजेकाले उक्त मतादेशको कदर गर्दै गुण तिर्ने प्रतिज्ञा समेत गरे।

सम्बोधनका क्रममा लामिछानेले पार्टी र सरकारले अब बोलेर भन्दा पनि काम गरेर जनतामाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको बताए। उनले भने, 'हामीले पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो। हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो र हामीले त्यो बदल्न सुरु गरिसकेका छौँ।'

रास्वपाका हरेक सांसदले आफ्नो कामबाटै पार्टी र सरकारलाई प्रमाणित गर्नुपर्नेमा जोड दिँदै उनले अब सरकारका कामहरूले नै जनताका पक्षमा बोल्ने विश्वास व्यक्त गरे। सुशासनको सवालमा कुनै पनि किसिमको सम्झौता नगर्ने दृढता व्यक्त गर्दै उनले जनताको भरोसालाई टुट्न नदिने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्