नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, निकालियो र्‍याली

बिहीबार, चैत १९, २०८२

नेपालगञ्ज । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमानको जन्मजयन्ती आज देशभर विभिन्न धार्मिक कार्यक्रमका साथ श्रद्धापूर्वक मनाइँदैछ। हनुमानको पूजा आराधना गर्नाले बल, बुद्धि र विद्या मिल्ने तथा सबै प्रकारका दुःख र सङ्कटबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ । 

यसै अवसरमा आज बिहानैदेखि नेपालगञ्जस्थित हनुमानगढी मन्दिर गौशालामा भक्तजनको ठूलो भिड लागेको छ । त्यस अघि विहान नेपालगञ्जमा हनुमान अंकित झण्डासहित र्‍याली निकालिएको थियो । आज हनुमान अंकित झण्डा ल्याई घरघरमा लगाउने परम्परा छ । त्यसै अनुरुप नेपालगञ्जमा पनि झण्डा लैजानेहरुको भिड छ । हनुमानगढी मन्दिरमा मानिसहरुको घुइँचो छ ।

शास्त्रीय मान्यता अनुसार हनुमान शब्द ुहनुु धातुमा ुमतुपु प्रत्यय लागेर बनेको हो, जसको अर्थ वेगवान् र गतयुक्त शक्ति भन्ने हुन्छ । भगवान् रामको अनन्य भक्तका रूपमा चिनिने हनुमानलाई वायुपुत्र तथा शिवको एघारौँ रुद्र अवतारका रूपमा समेत पुजिन्छ ।

रामायण भन्दा पूर्व नै हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ भने स्कन्द पुराणमा हनुमान भन्दा ठूलो र पराक्रमी प्राणी जगतमा अरू कोही नभएको व्याख्या गरिएको छ । मानिसमा हुने भय र नकारात्मक शक्तिको प्रकोपबाट बचाउने सङ्कट मोचकका रूपमा हनुमानलाई पुजिने भएकाले बच्चादेखि वृद्धसम्मले आज हनुमान चालिसाको पाठ गर्ने परम्परा छ ।

हनुमानलाई जुनसुकै रूप धारण गर्न सक्ने र अणिमा, महिमा जस्ता आठ प्रकारका यौगिक शक्तिले सम्पन्न देवता मानिन्छ । आजको दिन भक्तजनहरूले पवित्र नदीमा स्नान गरी व्रत बस्ने तथा विभिन्न स्थानमा हनुमानको शोभायात्रा निकाल्ने कार्य भइरहेका छन् । सामान्यतया मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गरिने भएता पनि चैत्र शुक्ल पूर्णिमाको दिन मनाइने यो जयन्तीको विशेष धार्मिक महत्त्व रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्