सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस का महामन्त्री नरनारायण शाह (मनु) ले पार्टीका औपचारिक तथा अनौपचारिक गतिविधिबाट टाढिने घोषणा गरेका छन्। बुधबार जारी विज्ञप्तिमा उनले वर्तमान राजनीतिक परिस्थिति र पार्टी नेतृत्वको भूमिकाप्रति गम्भीर असन्तुष्टि जनाउँदै यस्तो निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन्।
शाहले आफ्नो परिवारको झण्डै आठ दशक लामो कांग्रेससँगको सम्बन्ध स्मरण गर्दै हजुरबुबा स्व.लोकेन्द्र बहादुर शाह र बुबा स्व. मोहन बहादुर शाहको योगदान उल्लेख गरेका छन्। आफू समेत दुई कार्यकाल जिल्ला सभापति भइसकेको र हाल प्रदेश कार्यसमितिको महामन्त्रीको जिम्मेवारी सम्हालिरहेको इतिहास रहेको उनले बताएका छन्।
विज्ञप्तिमा उनले देशको जटिल र चुनौतीपूर्ण परिस्थितिमा पार्टी एकजुट हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै अब उपरान्त कुनै पनि कार्यक्रमहरूमा सहभागिता नजनाउने निर्णय लिएको स्पष्ट पारेका छन्। साथै, आगामी दिनमा दलगत राजनीतिबाट टाढै रहने प्रयास गर्ने पनि बताएका छन्।
पार्टी विभाजनतर्फ जान सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै शाहले त्यसले कार्यकर्ताहरूको निष्ठा, भावना र संगठनप्रतिको विश्वासमा गम्भीर आघात पुग्ने चेतावनी दिएका छन्। उनले पार्टीको स्थापित विरासतसँग खेलवाड नगर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।
दीर्घ राजनीतिक यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै उनले आफ्नो निर्णयलाई अन्यथा नलिन अनुरोध गरेका छन्। साथै, आफ्नो निर्णयलाई प्रतिनिधिसभा निर्वाचनको परिणामसँग नजोड्न समेत उनले आग्रह गरेका छन्। विज्ञप्तिको अन्त्यमा उनले सबैको जीवन सुखमय रहोस् भन्ने कामना गर्दै ‘जय नेपाल’ उल्लेख गरेका छन्।