सपना प्रधान मल्ल आजदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

बुधबार, चैत १८, २०८२

काठमाडौँ । प्रधानन्यायाधीश  प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएसँगै सर्वोच्च अदालतमा नेतृत्व परिवर्तन भएको छ। आजरदेखि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन्।

कानुन व्यवसायबाट न्याय सेवामा प्रवेश गरेकी मल्ल लामो समयदेखि न्याय क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। अर्कोतर्फ, राउतले करिब ३३ वर्ष वकालत र ८ वर्ष सर्वोच्च अदालतका न्यायाधीशका रूपमा सेवा दिएका थिए। उनी विसं. २०८१ असोज २० गते प्रधानन्यायाधीश बनेका थिए भने २०७३ साउन १७ गते न्यायाधीश नियुक्त हुँदा नै भावी प्रधानन्यायाधीशका रूपमा रोलक्रममा परेका थिए।

६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि मंगलबार आयोजित कार्यक्रममा मल्लले राउतलाई बिदाइ गरेकी थिइन्।

यसैबीच, नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले मल्लसहित कुमार रेग्मी, हरि फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ को नाम सिफारिस गरेको छ।

संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशको अवकाश हुनुभन्दा एक महिना अघि नै संवैधानिक परिषद्ले नयाँ नाम सिफारिस गर्नुपर्ने हुन्छ। त्यसपछि संसदीय सुनुवाइबाट अनुमोदन भएपश्चात राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने प्रक्रिया रहेको छ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्