काठमाडौंका पूर्व सीडीओ छवि रिजाल हाजिर जमानीमा रिहा, जेनजी प्रदर्शन घटनामा सोधपुछ

मंगलबार, चैत १७, २०८२

काठमाडौँ । काठमाडौंका पूर्व सीडीओ छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ। मंगलबार उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।

पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौंले रिजालसँग बानेश्वरमा भएको जेनजी प्रदर्शनका क्रममा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे सोधपुछ गरेको थियो। अनुसन्धान अधिकृतहरूले घटनामा उनको भूमिकाबारे विस्तृत बयान लिएका थिए।

प्रहरीका अनुसार उनलाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा रिहा गरिएको हो। एक प्रहरी अधिकारीले सञ्चारमाध्यमसँग कुरा गर्दै अनुसन्धान प्रक्रिया अझै जारी रहेको बताएका छन्।

उक्त घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन सीडीओ रिजाललाई जिम्मेवार ठहर गर्दै मुद्दा दायर गर्न सिफारिस गरेको थियो। भदौ २३ र २४ गते भएको प्रदर्शनका बेला उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए।

बानेश्वर क्षेत्रमा प्रदर्शन नियन्त्रणका क्रममा गोली चलाउन आदेश दिएको आरोपमा रिजालको व्यापक आलोचना भइरहेको छ। तर, आयोगसमक्ष दिएको बयानमा उनले आफूले घातक हतियार प्रयोग गर्ने निर्देशन नदिएको दाबी गरेका छन्।

यसैबीच, आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेमन्त्रिपरिषद्को निर्णयपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई यसअघि नै पक्राउ गरिएको थियो।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १९:३९
प्रतिक्रिया दिनुहोस्