सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ। बास नेपालको सहजीकरणमा आयोजित कार्यक्रम नरैनापुर–४ स्थित रंगशालामा आइतबार सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा सरोकारवाला निकाय र स्थानीयबासीबीच दोहोरो प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको अन्त्यमा पाँच बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको छ ।
घोषित प्रतिबद्धता अनुसार पालिकाभित्र रहेका गुरुकुल पाठशालाको सुधारका लागि शिक्षा समितिमार्फत निर्णय गरी कार्यपालिकामा पठाइने, विद्यालय व्यवस्थापन समिति चयन गर्दा अभिभावकलाई जानकारी नहुने गुनासो समाधान गर्न आगामी दिनमा सार्वजनिक सूचना जारी गरी पारदर्शी प्रक्रिया अपनाइने जनाइएको छ । यस्तै, नरैनापुर–४ मा निर्माण सम्पन्न खानेपानी ट्यांकी सञ्चालनका लागि आवश्यक पहल गरिने, धारा तथा बोरिङ आवश्यकता अनुसार वितरण प्रक्रिया अगाडि बढाइने, सडक निर्माण गर्दा नाला व्यवस्थापन अनिवार्य गरिने र योजनाको प्रभावकारी अनुगमन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै सडक अतिक्रमणका कारण बढ्दो दुर्घटना न्यूनीकरणका लागि अतिक्रमण हटाउने पहल गरिने पनि जनाइएको छ ।
कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले सार्वजनिक सुनुवाईको उद्देश्य प्रष्ट पार्दै सुनुवाई पूर्व गरिएको नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले चालू आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम तथा गतिविधिको प्रगति विवरण प्रस्तुत गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्वागत गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले गरेका थिए ।
सुनुवाईमा सहभागीहरूले गाउँपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाई आयोजना गरी आफ्ना गतिविधि र प्रगतिबारे जानकारी गराएको तथा प्रत्यक्ष रूपमा प्रश्न राख्ने अवसर प्रदान गरेकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रममा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा लक्षित वर्गका कार्यक्रम लगायत विविध विषयमा सहभागीहरूले खुलेर प्रश्न राखेका थिए । प्रश्नहरूको जवाफ जनप्रतिनिधि तथा कर्मचारीहरूले दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा डेढ सय बढीको सहभागिता रहेको थियो ।