एमाले अध्यक्ष ओली र पूर्व गृहमन्त्री लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

आइतबार, चैत १५, २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता त्त्था पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको आदेशपछि प्रहरीले दुवैलाई नियन्त्रणमा राखेर थप छानबिन गर्न पाएको हो।

प्रहरीले चैत १४ गते उनीहरूलाई पक्राउ गरेको थियो र आइतबार अदालतमा उपस्थित गराएको थियो। उनीहरू माथि भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीलाई कठोर दमन गर्न निर्देशन दिएको, जसका कारण किशोरहरू माथि गोली चलाइएको आरोप छ।

गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले ओली, लेखक तथा तत्कालीन केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरू विरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरी ‘ज्यानसम्बन्धी कसुर’ अन्तर्गत अनुसन्धान अघि बढाइरहेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीसमक्ष पठाइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार सो प्रतिवेदनकै आधारमा अहिले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

यद्यपि, केन्द्रीय सुरक्षा समितिमा रहेका सुरक्षा निकायका उच्च अधिकारीहरूको हकमा भने सरकारले छुट्टै समिति बनाएर थप अध्ययन गर्ने निर्णय गरेको छ। उक्त समितिमा प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी प्रमुख, गृह सचिव र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहने व्यवस्था छ। उक्त जेनजी प्रदर्शनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए, जसले घटनालाई गम्भीर बनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्