दाउन्नेमा तीनवटा सवारी दुर्घटना:३ जनाको मृत्यु हुँदा १५ घाइते

शनिबार, चैत १४, २०८२

काठमाडौं । नवलपरासीको दाउन्नेमा गएराति भएको भीषण सवारी दुर्घटनाले तीन परिवारमा शोक छाएको छ। बर्दघाट नगरपालिका–४ घ्यूखोलामा करिब राति १ बजे तीन सवारी एकआपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको हो भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार मृतकमध्ये रोल्पाका २५ वर्षीय गोविन बुढाको सनाखत भइसकेको छ। अन्य दुई जनाको पहिचान अझै खुल्न सकेको छैन। तीनै जना मृतक पुरुष रहेका छन्।

प्रारम्भिक विवरणअनुसार बुटवलतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र लु २ ख २३५१ नम्बरको बसले सोही दिशामा अघि बढिरहेको ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएका थिए। ठक्करपछि अनियन्त्रित भएका बस र ट्रक करिब २०० मिटर तल खस्दा दुर्घटना झनै भयावह बनेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा लगिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्