सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। दोलखा क्षेत्रमा मुस्ताङ एयरको एक हेलिकप्टर सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार ‘नाइन एन एएनओ’ कलसाइन भएको उक्त हेलिकप्टर शुक्रबार मध्यान्हदेखि राडार सम्पर्कबाट बाहिरिएको हो।
आज बिहान काठमाडौंबाट दोलखातर्फ उडेको हेलिकप्टरमा क्याप्टेन सुरज थापासहित पाँच जना सवार रहेको जानकारी दिइएको छ। प्रारम्भिक विवरणअनुसार हेलिकप्टर बिगु गाउँपालिका–१, लुम्नाङबाट उडेर लाप्त्चे क्षेत्रतर्फ गएको बताइएको छ।
दोलखाका डीएसपी मनोज लामाले हेलिकप्टर लाप्त्चेमा अवतरण गरेको हो वा नभएकोबारे यकिन हुन नसकेको बताए। उक्त क्षेत्र दुर्गम भएकाले स्थलमार्गबाट पुग्न ६–७ घण्टा लाग्ने र अहिले वर्षाका कारण खोजी कार्यमा कठिनाइ भइरहेको उनले उल्लेख गरे।
नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १२:४५ बजेदेखि हेलिकप्टरसँग सम्पर्क टुटेको हो। हाल सुरक्षाकर्मी तथा सम्बन्धित निकायले खोजी तथा उद्धारको तयारी गरिरहेका छन्।