नवनियुक्त प्रधानमन्त्री बालेनले लिए शपथ

शुक्रबार, चैत १३, २०८२

काठमाडौँ ।  बालेन्द्र शाह (बालेन) ले १२ः३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । बालेनले शपथ लिनका लागि यसअघि नै राष्ट्रपति कार्यालयमा शुभसाइत पठाएका थिए । 

बालेनले आफ्नो शपथका क्रममा नयाँ प्रयोग समेत गरेका छन् । विगतमा प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा फगत शपथ मात्रै हुने गरेकामा यो पटक उनले राष्ट्रपति भवन शीतल निवासमा नयाँ प्रयोग गरेका हुन् । 
नयाँ प्रयोग यसअर्थमा कि उनले शपथअघि वैदिक परम्परालाई पनि स्मरण गराए । उनले शपथका क्रममा एकसाथ सात शंखबाट शंखनाद गराइयो भने १०८ जना बटुकहरूबाट स्वस्तिवाचन गराइयो । त्यस्तै १६ जना भिक्षुहरूबाट अष्टमंगल पाठ गरियो । 

योग र अध्यात्मका अनुसार मानव शरीरमा सातवटा मुख्य ऊर्जाहरू (चक्र) हुन्छन्। शंखको ध्वनिले उत्पन्न गर्ने कम्पनले ती सात च्रकहरू मूलाधारदेखि सहस्रारसम्मलाई जागृत र सन्तुलित बनाउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ।

त्यस्तै, ७ वटा शंख बजाउनुलाई सप्तऋषिको उपस्थिति र आशीर्वाद प्राप्त गर्ने माध्यमको रूपमा लिइन्छ।

सातको संख्यालाई पूर्णताको प्रतीक मानिने हुनाले, यसले पूर्ण विजय, सुख र समृद्धिको संकेतसमेत गर्ने हिन्दु धार्मिक ग्रन्थहरूमा उल्लेख छ। यस्तो प्रयोग शपथमा पहिलो पटक भएको बताइएको छ । 

शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्