सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र साह (बालेन) लाई पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक सफलता हासिल गर्दै १८२ सिटमा जित निकालेको थियो। यससँगै नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम एकल बहुमतको सरकार गठन हुन लागेको हो। बिहीबार मात्रै रास्वपाले साहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको थियो।
बालेन झापा क्षेत्र नं. ५ बाट ६८ हजार ३४८ मतका साथ भारी अन्तरले विजयी भएका हुन्। हिजो बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले साहसहित अन्य नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार अपराह्न हुने शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक नियोगका प्रतिनिधि, उच्च सरकारी अधिकारी र नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीको शपथसँगै नयाँ मन्त्रिमण्डलका केही सदस्यहरूको समेत शपथ गराइने बुझिएको छ।