नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले लिए शपथ

बिहीबार, चैत १२, २०८२
Honor 600 pro

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित नवनिर्मित संसद् भवनको बहुउद्देश्यीय हलमा आयोजित विशेष समारोहमा सांसदहरूलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराए।

योसँगै भदौ २७ गते विघटित भएको प्रतिनिधि सभा जीवित भएको छ । नयाँ सरकार बनाउने बाटो पनि बिहीबारबाटै खुलेको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले आज अन्य २७४ जना निर्वाचित सदस्यहरूलाई शपथ खुवाएका हुन्। 

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

यसपटकको शपथ ग्रहणमा भाषा र सांस्कृतिक विविधताको विशेष झलक देखिएको छ। संसद् सचिवालयका अनुसार कुल ४७ जना सांसदले नेपालीबाहेक आ(आफ्नो मातृभाषामा शपथ लिएका छन्।

शपथ ग्रहण समारोहमा सांसदहरू आ-आफ्नो जातीय पहिचान झल्किने पोसाक र राष्ट्रिय पोसाकमा सजिएर उपस्थित भएका थिए। यो शपथसँगै नयाँ प्रतिनिधिसभाले आफ्नो संसदीय प्रक्रिया औपचारिक रूपमा अघि बढाउने बाटो खुलेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्