एमाले महासचिव शंकर पोखरेल भन्छन्, कार्की आयोग निष्पक्ष भएन

बिहीबार, चैत १२, २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन(जी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका हुन् ।

‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ’, महासचिव पोखरेलले लेखेका छन्, ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’

उनले कार्की आयोग र निर्वाचन अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको दाबी गरे । सोही प्रयास अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको भनाई छ ।

उनले लेखेका छन्, ‘अल्गो रिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ ।’ अबको बाटो सजिलो नहुने भन्दै उनले राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘तर पनि सत्य कुरा के हो भने लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरूको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइन ।’

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्