सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । आज पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो। । समसामयिक राजनीतिक विषयदेखि पार्टीको आन्तरिक सुदृढीकरणका एजेन्डाहरूमा केन्द्रित रहँदै बैठक जारी रहने पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा विशेषगरी पार्टीको आगामी १५ औँ महाधिवेशनको कार्यतालिका निर्माण र केन्द्रीय निर्वाचन समिति गठनका विषयमा सघन छलफल भइरहेको उनले बताए। यसका साथै संविधान संशोधनका लागि आवश्यक अध्ययन तथा सुझाव संकलन गर्न विज्ञसहितको समिति गठन गर्ने र सुशासन स्थापनाका लागि पार्टीको भूमिकाका बारेमा समेत बैठकमा छलफल भइरहेको छ।
बैठकका अन्य प्रमुख एजेन्डाहरूमा क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक विशेष अभियान, नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण, र प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन समीक्षा रहेका छन्। त्यस्तै, भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूको व्यवस्थापनका साथै केन्द्रीय लेखा समिति गठनका विषयमा समेत नेताहरूले धारणा राखिरहेका छन्। अहिलेसम्म १८ जना केन्द्रीय सदस्यहरूले आफ्ना भनाइहरू प्रस्तुत गरिसकेको र बाँकी सदस्यहरूले आजको बैठकमा धारणा राख्ने कार्यतालिका रहेको कार्यवाहक मुख्यसचिव दुलालले बताए।