गगन थापाले भने-पूर्वाग्रह बिना जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयन होस्

मंगलबार, चैत १०, २०८२
Honor 600 pro

काठमाडौं । कांग्रेस सभापति गगन थापाले जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन ढिलाइ नगरी तत्काल सार्वजनिक गर्नुपर्ने र त्यसपछि सोही प्रतिवेदनका आधारमा प्रभावकारी रूपमा कार्यान्वयन अघि बढाउनुपर्ने बताएका छन्।

मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले प्रतिवेदन सार्वजनिक हुनु मात्रै पर्याप्त नभई त्यसमा उल्लेख गरिएका निष्कर्ष र सिफारिसहरू कार्यान्वयनमा लैजानु अत्यावश्यक रहेको बताए। उनले दोषी ठहर भएका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिँदै न्याय सुनिश्चित गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे।

थापाले छानबिन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वासिलो बनाउनु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्दै कुनै पनि प्रकारको पूर्वाग्रह, दबाब वा प्रभाव बिना प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताए।

उनले नेपाली कांग्रेस यस विषयमा स्पष्ट अडानका साथ उभिएको र सत्यतथ्य बाहिर ल्याएर दोषीलाई सजाय तथा पीडितलाई न्याय दिलाउने प्रक्रियामा दृढ रहेको पनि प्रस्ट पारे। साथै, उनले सरकार तथा सम्बन्धित निकायहरूलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गर्दै प्रतिवेदन सार्वजनिक र कार्यान्वयनमा अनावश्यक ढिलाइ नगर्न चेतावनीसमेत दिए।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्