फत्तेपुरको डाँडाटेपरी मोटरसाइकल दुर्घटनामा ३३ वर्षीय युवकको मृत्यु

सोमबार, चैत ९, २०८२

फत्तेपुर । राप्तीसोनारी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

राप्तीसोनारी गाउँपालिका–६ डाँडाटेपरीस्थित गुलरी स्कुल नजिक भे२प ८१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा राप्तीसोनारी–३ सिनावासका ३३ वर्षीय हरि थारुको ज्यान गएको हो।

फत्तेपुर प्रहरी चौकी ‘क’ कुण्डाका इन्चार्ज प्रहरी नायब निरीक्षक भद्रसिंह ओलीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका हरिलाई तत्काल उद्धार गरी नेपालगन्जस्थित सन्जिवनी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार साँझ राप्तीसोनारी–६ राजपुरका २७ वर्षीय दिपेन्द्र थारुले आफ्ना फुफुको छोरा हरिलाई बैजापुर छोड्न जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनाको समयमा हरि मोटरसाइकलको पछाडि सवार थिए।

घटनापछि मोटरसाइकल चालक दिपेन्द्रलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्