बलराम शर्माको राजीनामा अस्वीकृत गर्ने कांग्रेस बाँके - १ को निर्णय, लगाइएका आरोप सबै निराधार

आइतबार, चैत ८, २०८२

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ कार्यसमितिको बैठक सभापति पोषण केसीको सभापतित्वमा आइतबार राप्तीसोनारी गाउँपालिका वडा नं. ६ फत्तेपुरमा सम्पन्न भएको छ। बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को समिक्षा तथा समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल गर्दै विभिन्न निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको क्षेत्रीय सभापति केसीले बताए।

प्रतिनिधिसभा निर्वाचन २०८२ शान्तिपूर्ण, भयरहित तथा मर्यादित वातावरणमा सम्पन्न भएकोमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति धन्यवाद तथा आभार व्यक्त गर्ने निर्णय गर्दै राजनीतिक अन्योल र अस्थिरताका बीच सम्पन्न निर्वाचनले लोकतन्त्र तथा गणतन्त्रलाई थप संस्थागत गरेको बैठकमा निष्कर्ष निकालिएको केसीले जानकारी दिएका छन् । निर्वाचनले जनताको सार्वभौम अधिकार पुनः स्थापित गर्दै जनमतमार्फत देशलाई लोकतान्त्रिक निकास प्रदान गरेको ठहर गरिएको उनले बताए।

निर्वाचन लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण आधारस्तम्भ भएकाले हार–जितलाई स्वाभाविक परिणामका रूपमा स्वीकार गर्नुपर्ने र सार्वभौमसत्ता सम्पन्न जनताबाट प्राप्त जनादेशलाई सबै राजनीतिक दलले सम्मान गर्नुपर्ने धारणा बैठकले राखेको केसीले बताए । यस निर्वाचनमार्फत परम्परागतसँगै नयाँ राजनीतिक शक्तिको उदय भएको स्वीकार गर्दै जनअपेक्षा सम्बोधन, सुशासन, विकास र स्थायित्व प्रदान गर्नु नयाँ नेतृत्वको जिम्मेवारी भएको बैठकले ठहर गरेको छ। संसदको दोस्रो ठूलो दलका रूपमा नेपाली कांग्रेसले सरकारका सकारात्मक कार्यमा सहयोग र गलत प्रवृत्तिप्रति रचनात्मक खबरदारी गर्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए।

यस्तै, बैठकले प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको यथार्थलाई आत्मसात गर्दै आत्मसमिक्षा गर्ने निर्णय गरेको छ। विगतका कमी कमजोरीको समीक्षा, संगठन सुदृढीकरण तथा जनतासँगको सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको केसीले जानकारी दिए। देशव्यापी रूपमा पार्टीले पराजय व्यहोरेको स्वीकार गर्दै राष्ट्रिय स्तरमै गम्भीर समिक्षा आवश्यक रहेको निष्कर्ष निकालिएको हो।

बाँके निर्वाचन क्षेत्र नं. १ को परिणामबारे बैठकले निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेश कुमार थारूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ भने नेपाली कांग्रेसका उम्मेदवार तथा जिल्ला सभापति नारायण प्रसाद गौडेललाई मत दिने मतदाताप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ। प्रत्यक्षतर्फ उम्मेदवारले समानुपातिकभन्दा बढी मत प्राप्त गरेको तथ्यलाई सकारात्मक रूपमा लिँदै मत कम आउनुका कारणहरूको गहन समीक्षा गर्ने निर्णय गरिएको केसीले बताए।

बैठकले निर्वाचन पराजयका कारणका रूपमा नयाँ राजनीतिक शक्तिप्रति बढ्दो आकर्षण, नेताहरूका कमजोरी, सुशासन कायम गर्न नसक्नु, भ्रष्टाचार न्यूनीकरणमा प्रभावकारी काम हुन नसक्नु, स्थानीय तहका केही जनप्रतिनिधिमा व्यक्तिवादी प्रवृत्ति हावी हुनु, जनतासँग दूरी बढ्नु तथा संघीय सरकारले सुरु गरेका कार्यक्रम सञ्चालनमा अवरोधजस्ता पक्षलाई औंल्याएको छ। केसीका अनुसार  स्थानीय तहबाट अवसर पाएका व्यक्तिहरूलाई निर्वाचनमा प्रभावकारी रूपमा परिचालन गर्न नसक्नु पनि पराजयको कारण रहेको निष्कर्ष निकालिएको छ।

त्यसैगरी, फागुन २६ गते कोहलपुरमा आयोजना गरिएको समिक्षा बैठकमा केही नेता तथा कार्यकर्ताबाट भएको अभद्र तथा उच्छृंखल गतिविधिप्रति दुःख व्यक्त गर्दै सम्बन्धितलाई पार्टीको मर्यादा अनुरूप आचरण गर्न आग्रह गर्ने निर्णय गरिएको छ। उक्त घटनाप्रति बैठकले खेद व्यक्त गरेको केसीले जानकारी दिए।

बैठकले बाँके क्षेत्र नं. १ प्रदेशसभा “ख” का सभापति बलराम शर्माप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँमाथि लगाइएका आरोपहरू निराधार रहेको ठहर गरेको छ। साथै ती आरोपका कारण परेको मानसिक चोटप्रति सहानुभूति प्रकट गर्दै शर्माले दिएको राजीनामा अस्वीकृत गर्ने सर्वसम्मत निर्णय गरिएको केसीले बताए।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचन २०८२ लाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, नागरिक समाज, पर्यवेक्षक तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्ने निर्णय गरिएको क्षेत्रीय सभापति केसीले जानकारी दिए। बैठकमा क्षेत्र नं. १ अन्तर्गतका प्रदेश, पालिका तथा ३० वटै वडाका सभापतिहरूको सहभागिता रहेको थियो।

 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्