अर्जुननरसिंह केसीले गगनको राजीनामामा बारे भने- मैदान छोड्ने होइन, नेतृत्व सम्हाल्ने हो

शुक्रबार, चैत ६, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठीक भएको बताए। पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनले टिप्पणी पनि गरे । उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रहसमेत गरे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थिरता, समृद्धि र विकास दिन आग्रह गर्दै लोकतन्त्रलाई संरक्षण गर्ने काममा कांग्रेसले सहयोग गर्नेसमेत बताए ।

पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै नेता केसीले ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने भन्दै पार्टीलाई थापाको आवश्यकता रहेको बताए ।

उनले भने, ‘कुनै पनि नेपाली कांग्रेसका साथीले हारबाट आत्तिनुपर्ने कुरा छैन । यत्रो ठूलो जनमत प्राप्त गरेर आउनुभएका साथीहरू छन् । उहाँहरूलाई हाम्रो सम्पूर्ण रुपबाट शुभेच्छा छ । स्थिरता दिनुस्, समृद्धि र विकास दिनुस् । र लोकतन्त्रलाई संरक्षण गर्ने काममा उहाँहरू जहाँजहाँ अगाडि बढ्नुहुन्छ त्यो साथमा हामी पनि छौँ । सभापतिको राजीनामाबारे सार्वजनिक रुपमा मेले पहिले नै भनेको छु । एक चुनावको जीत र हारबाट नेतृत्वको परीक्षण हुनु गलत हुन्छ । ५० दिनको अवधिमा विगत वर्षौँदेखि थुप्रिएका विकृति र विसंगति तथा हाम्रै कामबाट समेत जनता असन्तुष्ट रहेको अवस्थामा ५० दिनमा के गर्न सकिन्छ रु म त गगनजीले राजीनामा गर्नु नै बेठीक भन्ने मान्छे हो । अहिले केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे छलफल हुने भएकोले यसमा व्यक्तिगत टिप्पणी नगरौँ । एउटा ठूलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बिचमा छोडेर जान मिल्देन।’

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्