हावाहुरीबाट रूख ढलेर २ जनाको मृत्यु, ६ जना घाइते

मंगलबार, चैत ३, २०८२

काठमाडौं । उदयपुरको कटारी क्षेत्रमा सोमबार साँझ आएको शक्तिशाली हुरीबतासले जनधनमा क्षति पुर्‍याएको छ। घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार कटारी नगरपालिका–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगा लागेर घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै कटारी–५ तीनकुने चोक नजिकै रहेको राधाकृष्ण मन्दिर आसपास सखुवाको रुख ढल्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।

हुरीका कारण अन्य छ जना घाइते भएका छन्। घाइते हुनेमा २० वर्षीया कमलाकुमारी पुलामी मगर, पाँच वर्षीया बिनिशा चौधरी, २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीया अस्मिता परियार रहेका छन्।

घाइतेमध्ये गम्भीर अवस्थाका दुई जनालाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ। बाँकी चार जनाको भने स्थानीय कटारी अस्पतालमा उपचारपछि घर फर्काइएको प्रहरीले जानकारी दिएको छ।

मृतक दुवैको शव पोस्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको छ। यस्तै हुरीबतास र वर्षाका कारण कटारीका पहाडी बस्तीहरूमा घरका छाना उड्नुका साथै केही स्थानमा सामान्य भौतिक क्षति भएको विवरण आउन थालेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्