सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज। सुर्खेतकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै बाँकेको नेपालगन्जमा प्रदर्शन गरिएको छ।
नेपालगन्जको भृकुटीनगरस्थित प्रभात मेमोरियल स्कुलका विद्यार्थी तथा शिक्षकहरूले शुक्रबार प्रदर्शन गर्दै उक्त जघन्य अपराधमा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका हुन्। उनीहरूले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न पनि सरकारलाई दबाब दिएका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले “इनिसालाई न्याय देऊ”, “बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर” लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्। साथै यस्ता अपराधमा संलग्नलाई कडाभन्दा कडा सजाय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।