सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा यसपटक ठूलो राजनीतिक उलटफेर भएको छ। गगन थापाको लामो संसदीय यात्रामा अमरेश कुमार सिंहले पूर्णविराम लगाएका छन्। आइतबार बिहान सार्वजनिक भएको सर्लाही–४ को अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशले नेपाली कांग्रेसका सभापति गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्।
अमरेशले ३५ हजार ६८८ मत प्राप्त गर्दा गगनले २२ हजार ८३१ मतमा सीमित हुनुपरेको छ। यस नतिजासँगै गगनको करिब १८ वर्ष लामो संसदीय यात्रा यसपटक रोकिएको छ।
गगन २०६४ सालदेखि संघीय संसदसँग जोडिएका थिए। उनले पहिलोपटक समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका थिए भने त्यसपछि लगातार तीनपटक काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थिए। गत पुसमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनबाट उनी पार्टी सभापतिमा निर्वाचित भएका थिए र कांग्रेसले उनलाई भविष्यका सम्भावित प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो।
विद्यार्थी राजनीतिबाट उदाएका गगन २०५१ सालमा नेपाल विद्यार्थी संघसँग आबद्ध रहँदै त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य बनेका थिए। २०५५ सालमा सोही क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका उनले पछि नेविसंघको उपाध्यक्ष र महामन्त्रीको जिम्मेवारीसमेत सम्हाले।२०६२–०६३ को जनआन्दोलनमा गणतन्त्रको पक्षमा खुलेर सक्रिय भएपछि उनी राष्ट्रिय राजनीतिमा थप चर्चित बने। २०७० सालमा उनी स्वास्थ्य मन्त्रीसमेत बनेका थिए।
यता विजयी भएका अमरेश कुमार सिंह सर्लाहीको बलरा क्षेत्रका निवासी हुन्। सन् १९७० सेप्टेम्बर ५ मा जन्मिएका उनले भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पीएचडी गरेका छन्।
मधेश आन्दोलनबाट राजनीति सुरु गरेका अमरेश सुरुमा मधेशी जनअधिकार फोरममार्फत सक्रिय भएका थिए। पछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए र २०७० तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट सांसद निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए र पुनः विजयी भएका थिए। संसदमा तीखो अभिव्यक्ति र असामान्य व्यवहारका कारण चर्चामा रहने अमरेश पछिल्लोपटक रास्वपाबाट उम्मेदवार बनेका थिए।
यसपटकको निर्वाचन परिणामले सर्लाही–४ मा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि नयाँ बहस सुरु गराएको छ।