सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँकेमा शान्तिपूर्णरुपले मतदान सम्पन्न भएको छ । जिल्लामा करीब ६३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार अहिले मतपेटिका संकलन कार्य भइरहेको छ । रातीसम्म मतपेटिका संकलन गरिसकिने उनको भनाई छ । त्यस पश्चात् सर्वदलीय वैठक बसेर मतगणनाको तयारी हुने शाहीले बताए । आजै मतगणनाको तयारी छ।
बाँकेका ३ वटा निर्वाचन क्षेत्रका ८१ वटा वडामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिए।मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार मतदान बेलुका ५ बजेसम्म चलेको थियो । मतदानका लागि जिल्लाभर २ हजार ४ सय जना कर्मचारी खटिएका छन्।
यस्तै ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी, निर्वाचन प्रहरी लगायत सुरक्षा अंग परिचालन भएर सुरक्षा दिइरहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट गरेर ३ लाख ५० हजार ३ सय ७१ जना मतदाता हुन् । जिल्लाका ८१ वटा वडासँगै कारागारहरुमा पनि मतदान केन्द्र राखिएको थियो । यसका साथै ३ वटा अस्थायी मतदान केन्द्र राखिएको थियो ।
नेपालगन्ज कारागार, नौबस्ता कारागार र पशु सेवा कार्यालय परिसरमा पनि अस्थायी मतदान केन्द्र राखिएको थियो ।जिल्लाका १ सय ३९ मतदान स्थलमा ४ सय वटा मतदान केन्द्र राखिएको थियो ।