सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिने कर्मचारी र सुरक्षाकर्मीहरू आज अपराह्नसम्म देशभरका मतदान केन्द्रमा पुग्ने भएका छन्। निर्वाचन आयोगले सोमबार बेलुकासम्म सबै केन्द्रमा आवश्यक जनशक्ति उपस्थित भइसक्नुपर्ने निर्देशन दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मतदानमा संलग्न कर्मचारीहरूले सोमबार नै केन्द्रमा पुगेर केही प्रारम्भिक तयारीका काम सम्पन्न गर्नुपर्नेछ। उनका अनुसार मतदान केन्द्रको चारकिल्ला निर्धारण गरी सम्बन्धित क्षेत्रलाई मतदान केन्द्रका रूपमा तोकिएको सूचना स्पष्ट रूपमा टाँस्ने कार्य आजै सम्पन्न गरिनुपर्नेछ।
दुर्गम तथा विकट भेगका केन्द्रहरूमा भने केही दिनअघि नै सुरक्षाकर्मी सहितको टोली पुगिसकेको छ। यातायात सुविधा पुगेका स्थानमा आजै अपराह्नसम्म पुगेर तयारीमा जुट्न आयोगले परिपत्र जारी गरिसकेको छ।
देशभरका निर्वाचन अधिकृतका कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा मतदान अधिकृतहरूले आवश्यक निर्वाचन सामग्री बुझ्ने व्यवस्था मिलाइएको छ। निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म कर्मचारी र सुरक्षाकर्मीको टोली संयुक्त रूपमा केन्द्रमै रहनेछन्।
आयोगका अनुसार आइतबारसम्म दुई सयभन्दा बढी विकट मतदान केन्द्रमा कर्मचारी परिचालन भइसकेको विवरण प्राप्त भएको छ। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका सडक पहुँच नभएका तथा सदरमुकामबाट टाढा रहेका करिब तीन सय मतदान केन्द्रलाई प्राथमिकतामा राखेर कर्मचारी र सुरक्षाकर्मी खटाइएको आयोगले जनाएको छ।