सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेकपा एमालेबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आज विहानी चरणको निर्वाचन केन्द्रित कार्यक्रम अन्तर्गत नेपालगन्जको वडा नं. १९ र २० मा घरदैलो तथा कोणसभा गरेका छन् । उम्मेदवार राईले १९ नं. वडाको फारम टोल, भैयापुर, मोहनपुर तथा वडा नं. २० को थपुवा नयाँ बस्तीमा मतदाताका घर-घरै पुगेर आफ्नो निर्वाचन क्षेत्र केन्द्रित प्रतिबद्धताहरू राखे भने कोण सभामा त्यहाँका स्थानीयले उठाउँदै आएका एजेन्डालाई सम्बोधन गरे ।
वडा नं. २० मा आयोजित कोणसभालाई सम्बोधन गर्दै राईले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको विषयमा बढ्ता जोड दिए । ‘मलाई थाहा छ नेपालगन्जको वडा नं. १८ र २० अनि डुडुवाको ४ र ५ नं. वडामा पर्ने अमरहवा बस्तीमा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको विषय सबैभन्दा धेरै छ।’, राईले भने-‘अहिले निर्वाचन आचारसंहिताले धेरै कुरा बोल्न मिल्दैन । तर, यहाँहरूले यत्ति बुझ्नुस् कि यो विषय निर्वचन लगत्तै समाधान हुन्छ ।’
नेकपा एमाले नै भूमिहिन र सुकुम्बासीहरूको अधिकारका लागि सुरुदेखि लड्दै आएको पार्टी भएको भन्दै राईले सुकुम्बासी र भूमिहिनको मुद्दालाई आफूले प्राथमिकतामा राखेको पनि प्रष्ट पारे । व्यवस्थित बसोबास कायम गर्ने सम्बन्धमा राईले आफूले आफ्नो प्रतिबद्धता पत्रमा प्राथमिकताका साथ उल्लेख गरेको बताए । जसबाट लामो समयदेखि समस्या ब्यहोरिरहेका यहाँका भूमिहीन र सुकुम्बासीहरू आशावादी भएको उनको विश्वास छ ।
राईले वडा नं. २० सबैभन्दा ठूलो तर सबैभन्दा पछाडि परेको वडाका रूपमा आफूले महसुस गरेको बताउँदै राईले भने-‘मेरो पहिलो प्राथमिकता सबैभन्दा कम विकास भएको र सबैभन्दा ठूलो बस्ती भएको यो वडामा छ ।’ त्यस्तै वडा नं. १९ मा आयोजित कोणसभामा उम्मेदवार राईले यस क्षेत्रको बाटोघाटो, पुलपुलेसा, शिक्षा स्वास्थ्य क्षेत्रको आवश्यकता आफूले बुझेको र सोही अनुसार काम गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए ।