दाङको समृद्धिका लागि दीपक गिरीको 'भिजन १०' प्रतिज्ञापत्र सार्वजनिक

बुधबार, फागुन १३, २०८२

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी आफ्नो प्रतिज्ञा-पत्र सार्वजनिक गरेका छन् । गिरीले ‘भिजन–१०, समृद्ध दाङ’ योजना सार्वजनिक गर्दै १० बुँदामार्फत आफ्नो निर्वाचन क्षेत्र तथा समग्र दाङको विकास र समृद्धिको खाका प्रस्तुत गरेका हुन् ।

Honor x5c

उनले सार्वजनिक गरेको प्रतिज्ञापत्रका मुख्य बुँदामा दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति लागि पहल गर्ने, बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाका गंगटे, मलई लगायत बस्ती स्थानान्तरणका लागि पहल गर्ने, शैक्षिक संस्थाहरूमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने जस्ता कार्यक्रम समावेश छन् ।

गिरीले किसानमुखी अर्थतन्त्रमा जोड दिएका छन् । कृषि आधुनिकीकरण र बजारीकरण, किसानलाई सहुलियत ऋण, निःशुल्क बिमा कार्यक्रम, पशु मोबाइल अस्पताल सञ्चालन, कृषि उत्पादन भण्डारणका लागि कोल्ड स्टोर निर्माण, सिँचाई, मल र बीउको सहज उपलब्धता जस्ता विषय प्रतिज्ञापत्रमा समेटिएका छन् ।

शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक विद्यालयको स्तरोन्नति, प्राविधिक शिक्षाको सुनिश्चितता, गरिब, दलित, अपाङ्गता भएका तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति, अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट शैक्षिक संस्थासँग साझेदारी र सिकाई आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

गिरीले २०४७ सालमा स्थापना भएको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसलाई प्रविधिमैत्री र अत्याधुनिक क्याम्पसका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य सेवामा सुधारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको स्तरवृद्धि गरी विशेषज्ञ सेवा विस्तार गर्ने, आधारभूत स्वास्थ्य सेवा थप प्रभावकारी र निःशुल्क बनाउने, स्वास्थ्य चौकीहरूको सुदृढीकरण गर्ने योजना उल्लेख गरिएको छ । साथै सुत्केरी आमा, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा विशेष ध्यान दिने तथा स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।

रोजगारी र युवा भविष्यका लागि सीपमूलक तालिमसहित स्वरोजगार कार्यक्रम, उद्यमशीलता विकास, स्थानीय उद्योग, कृषि प्रशोधन तथा पर्यटन प्रवर्द्धनमा जोड दिने उल्लेख छ । सुशासन र सामाजिक न्यायका लागि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, छिटो, पारदर्शी र जवाफदेही सेवा विस्तारका लागि नीतिगत व्यवस्था गर्ने, सुरक्षित बस्ती विकास तथा बाढी, पहिरो र डुबान नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बस्ती स्थानान्तरणका विषयमा संघीय सरकारमार्फत पहल गर्ने वाचा पनि गिरीले गरेका छन् । ती क्षेत्रका स्थानीयले वन्यजन्तुको जोखिम बढेको भन्दै बस्ती स्थानान्तरणको माग गर्दै आएका छन् ।

व्यापार–व्यवसाय प्रवर्द्धनका लागि लगानीमैत्री वातावरण निर्माण, नयाँ उद्योग स्थापना, स्थानीय रोजगारी सृजना, हरित योजना प्रवर्द्धन, साना उद्योग तथा आयआर्जन कार्यक्रम संरक्षण, उद्योगी–व्यवसायीका लागि सुलभ वित्तीय पहुँच, व्यवसायिक कृषि तथा पशुपालनमा निःशुल्क बिमा र उत्पादनको आधारमूल्य सुनिश्चितता, आधुनिक प्रविधि प्रयोग तथा कृषि औजार खरिदमा अनुदान व्यवस्था जस्ता कार्यक्रम पनि समेटिएका छन् ।

पर्यटन विकास अन्तर्गत थारु कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन, दंगीशरण दरबार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास, राजाकोटमा भिजिटर तथा हाइकिङ स्टेशन स्थापना, इको–टुरिज्म प्रवर्द्धनका लागि वन, ताल र पार्कहरूको विकास, टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा तुलसीपुर–३ स्थित कालभैरव मन्दिरको स्तरोन्नत गर्ने योजना अघि सारिएको छ ।

पूर्वाधार विकासतर्फ प्राथमिकताका आधारमा सडक स्तरोन्नति, ग्रामीण बस्तीमा सडक सञ्जाल विस्तार, मोटरेबल तथा झोलुङ्गे पुल निर्माण, खानेपानी, सिँचाई र विद्युत् विस्तारमा ध्यान दिने उल्लेख छ । सञ्चार तथा प्रविधि विकासका लागि क्षेत्रको आधुनिकीकरण, एआई सेवा सक्षम बनाउने, ग्रामीण क्षेत्रमा आधुनिक सञ्चार सेवाको पहुँच विस्तार गर्ने तथा शैक्षिक संस्था र विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने प्रतिबद्धता प्रतिज्ञापत्रमा समावेश गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्