सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सिताराम यादवले नेपाली कांग्रेसलाई समर्थन गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्शु कोइरालालाई उनले समर्थन गरेका हुन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय एकता दलको तर्फबाट उम्मेदवारी दिएका यादवलाई निर्वाचन आयोगले चुनाव चिन्ह ‘तुलसीको बोट’ प्रदान गरेको थियो ।
यादवले चुनावको पुर्वसन्ध्यामा कांग्रेसका कोइराला नै योग्य र सबैको भावनालाई समेट्न सक्ने उम्मेदवार भएकाले जित नजिक रहेको ठहर गर्दै समर्थन गरेका हुन् । कोइरालालाई समर्थन गर्दै आफ्नो प्रचार प्रसार स्थगित समेत गरिसकेको उनले प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेका छन् । मतदाताको भावना, प्रतिक्रिया र सुझावका आधारमा आफूले कोइरालालाई पूर्ण समर्थन गर्ने निर्णयमा पुगेको यादवले उद्घोष गरेका छन्। देशको लोकतान्त्रिक प्रक्रिया, स्थिरता, विकास र सुशासनलाई मजबुत बनाउन तथा यस क्षेत्रको समग्र हित र जनताको अपेक्षालाई पुरा गर्न गराउन समर्थन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
युवा उम्मेदवार कोइराला योग्य, निष्कलंक, विकासप्रेमी तथा क्षेत्रको समृद्धिका लागि प्रतिबद्ध रहेको समेत नेता यादवले जनाएका छन् । कोइरालाको नेतृत्वमा बाँके क्षेत्र नम्बर २ ले समुन्नति र सुशासन प्राप्त गर्नेछ भन्ने विश्वास लिएको पनि विज्ञप्तीमार्फत जनाइएको छ । आफ्नो निर्णयले यो क्षेत्रको सदभाव, एकता र जनहितमा मद्यत पुर्याउने विश्वास पनि लिइएको छ ।
नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कोइरालालाई विजयी गराउन यादवले सम्पूर्ण मतदातालाई अपील गरेका छन् । चुनावमा आफ्ना समर्थकहरुलाई चुनाव चिन्ह 'तुलसीको बोट' को सट्टा अब चुनाव चिन्ह 'रुख' मा मतदान गर्न उनको आग्रह छ।