गौडेल भन्छन्– जनताको पीर बुझ्ने पार्टी काँग्रेस

आइतबार, फागुन १०, २०८२

कोहलपुर । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रसाद गौडेलले पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई उत्सासहपूर्ण तरिकाले चुनावी अभियानमा होम्मिन आग्रह गरेका छन् । राप्तीसोनारी गाउँपालिका ७ गेंदवा नयाँ बस्तीमा घरदैलो अघि वडा कार्यालयले आयोजना गरेको सभालाई सम्वोधन गर्दै उनले बदलिएको काँग्रेसले यो पटक रुख चिन्हमै मतदान गर्ने सुनिश्चितता गरेसँगै कार्यकर्ताहरुमा पनि उत्साह जाग्नुपर्ने बताए । 

Honor x5c

‘बदलिएको काँग्रेसले यो पटक रुखमै मतदान सुनिश्चित गरेको छ, अब कार्यकर्तामा पनि त्यही जोश देखिनुपर्छ,' उनले भने–‘यसअघि गठबन्धनका नाममा फरक–फरक चिन्हमा भोट हाल्यौं, तर अहिले त्यो संस्कृति भंग भएको छ । रुख चिन्हमा केन्द्रित भएर जनताको घर–घर पुग्नु हाम्रो पहिलो जिम्मेवारी हो । समयको चापले म सबैको घरमा पुग्ने अवस्था छैन । तपाईंहरु सबै घरघरमा पुगेर रुखमा भोट हाल्ने वातावरण बनाउनुहोस्।’ 

उनको आवाजमा केवल भाषणको औपचारिकता थिएन । बरु गाउँ–बस्तीका वास्तविक पीडा र आशा मिसिएको भाव झल्किन्थ्यो । ‘जनताको पीर–मर्का बुझ्ने पार्टी काँग्रेस नै हो,' उनले थपे–‘भावना र उत्तेजनामा नबग्नुस्, अलमलमा नपर्नुहोस्, जनताको सेवा गर्ने पार्टी नै काँग्रेस हो । यो कुरा प्रत्येकको घरघरमा गएर हाम्रो बुझाउनुहोस् ।’ जेनजी विद्रोहपछि बदलिएको पार्टी भनेकै काँग्रेस भएको गौडेलको भनाइ छ । वडा सभापति दशरथ कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति पोषण केसी र समानुपातिक उम्मेदवार दीप नारायण वर्माले पनि मन्तव्य राख्दै काँग्रेसको ‘नयाँ रूपान्तरण’ को कुरा उठाए । र, काँग्रेसलाई मत दिन आग्रह गरे । 

क्षेत्रीय सभापति केसीका अनुसार राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६ का टेपरी र सिधनहवा, तथा वडा नं. ७ का गेंदवा नयाँ बस्ती, पिपरहवा, लालपुर, उचवा झगडिया लगायतका बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरिएको छ । घरदैलो टोलीमा पूर्व सांसद ज्ञानु केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, नेता हुर्मत न्यौपाने, महाबीर ओली, डिल्ली गिरी लगायतका अनुभवी नेतादेखि युवा नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्