सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
राप्तीसोनारी। नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारी क्षेत्रमा घरदैलो अभियान तीव्र पारेका छन् ।
नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले शुक्रबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नं. ८ र ९ का विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट गरेका हुन् । घरदैलो कार्यक्रमअन्तर्गत वडा नं. ८ का बालापुर, ओभरी, पेरानी र धर्मोती तथा वडा नं. ९ का ढकेरी, नयाँ गाउँ, गुरुवा गाउँ र बुचापुर लगायतका बस्तीमा पुगेर स्थानीयका समस्या सुन्ने र आफ्ना प्रतिवद्धता सुनाउने काम गरेका छन् ।
घरदैलोमा पुगेका गौडेललाई स्थानीयले फुलमालासहित स्वागत गरेका थिए । स्थानीय बासिन्दाले भने आफ्ना टोल–बस्तीका विविध समस्याहरु खुलस्त रुपमा राखेका थिए । बालापुरका बासिन्दाले विशेषगरी बाँके राष्ट्रिय निकुञ्जका कारण भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गराएका थिए । उनीहरुले वन्यजन्तुको आक्रमणबाट हुने जनधनको क्षति, सडक तथा नाला निर्माणको आवश्यकता, भूमिहीन समस्या लगायतका विषय उठाएका थिए । स्थानीय मानबहादुर खड्काले निकुञ्ज क्षेत्र नजिकै बसोबास गर्ने नागरिकले महिनौँपिच्छे बाघ तथा चितुवाको आक्रमण झेल्नुपरेको गुनासो गरे ।
“वन्यजन्तु संरक्षणका नाममा हामीले ज्यान गुमाउनुपर्ने? यो कस्तो न्याय हो ?” भन्दै उनले दीर्घकालीन समाधानका लागि पहल गर्न माग गरे । अर्का स्थानीय मोहन गौतमले खेतबारीमा काम गर्ने किसान, दाउरा–घाँस संकलन गर्न जाने महिला तथा विद्यालय जाने बालबालिकासमेत वन्यजन्तु आक्रमणबाट त्रसित रहेको बताए । त्यस्तै, भूमिहीन समस्या पनि स्थानीयको प्रमुख सरोकारका रूपमा देखिएको छ । स्थानीय प्रेमा कुमारी कुसारीले “जग्गा छ तर लालपूर्जा छैन, अब यो समस्या नारामा सीमित राखेर हुँदैन, समाधान गरिदिनुपर्छ ” उनले भनिन्। घरदैलोका क्रममा उम्मेदवार गौडेलले स्थानीयका समस्या ध्यानपूर्वक सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
निकुञ्जसम्बन्धी समस्या कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्ने उल्लेख गर्दै उनले हाल प्रचलनमा रहेको वन्यजन्तु संरक्षण ऐन, २०२९ समयसापेक्ष नभएको बताए । “वन्यजन्तु संरक्षण ऐन संशोधन गरी जनमुखी र सुरक्षामैत्री बनाउन आवश्यक छ । संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न कानुनी तथा संरचनागत सुधार अपरिहार्य भइसकेको छ,” उनले भने, “संसदमा पुगेपछि यस विषयमा आवश्यक पहल गर्नेछु।”