सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू डुडुवा गाउँपालिकालाई नेपालगन्जसँगसँगै विकसित गराउन लागिपर्ने बताएका छन् । उम्मेदवार राईले डुडुवा नेपालगन्ज जस्तै विकसित होस् भनेर यहाँ पूर्वाधार निर्माणमा आफ्नो धेरै चासो रहेको जानकारी दिएका छन।
पूर्व मन्त्री समेत रहेका राईले भने, ‘मैले नेपालगन्ज र डुडुवालाई पक्षपात गरेर कहिल्यै हेरेको छैन । मेरा लागि दुबै बराबर हुन् । त्यसैले मेरो प्रतिबद्धतापत्र हेर्नुभयो भने पनि तपाइँहरूले थाहा पाउनुहुन्छ कि मैले नेपालगन्ज डुडुवा भनेर त्यहाँ उल्लेख गरेको छु । दुवै ठाउँको विकासले मेरो लागि उत्तिकै महत्व राख्छ।’
डुडुवाको विकासमा कतिपय स्थानीय नेताहरूको गलत राजनीतिक रबैयाले बाधा पुर्याएको पनि राईको आरोप थियो । उनले डुडुवा गाउँपालिकामा फुसको छानो विस्थापित गरेर सुरक्षित घर बनाउने आफ्नो योजनामा डुडुवा गाउँपालिकाले भाँजो हालेको बताए ।
त्यस्तै राजनीतिक र प्रशासनिक बेपरवाह अनि असहयोगले डुडुवा क्षेत्रमा सडक सञ्जाल र पूल निर्माणका कामहरूले गति लिन नसकेको पनि उम्मेदवार राईले दाबी गरे । आफू भौतिक मन्त्री हुँदा डुडुवा क्षेत्रमा सुरु गरेका ८ वटा पुलमध्ये एउटा मात्र अहिलेसम्म पूरा भएको, राप्ती नदीमा बन्दै गरेको डबल लेन पुलको काम ७० प्रतिशत पूरा भइसकेको तथा केही निर्माणाधीन र एउटाको काम नै सुरु हुन नसकेको राईले जानकारी दिए । यी सबै पुलहरू अहिलेसम्म बन्न नसक्नुमा राजनीतिक पूर्वाग्रह, ठेकेदारको लापरवाही र प्रशासनिक उदिसनता रहेको राईको भनाई थियो ।
राईले आफू विजयी भएमा डुडुवा खोलाको नदी कटान र डुबानको समस्या समाधान गर्न तटबन्ध निर्माण गर्ने बताए । नेपालगन्ज विर्ता पुरैना हुँदै बेतहनी अमृतपुर्वा मिलनचोक राँझा जोड्ने सडक योजना आफूले ल्याएको र त्यसको अझैं आधा काम बाँकी रहेको राईले बताए । अब निर्वाचित भएपछि बाँकी रहेको काम पूरा गर्ने पनि उनको दाबी थियो ।