शुधान्सु कोइरालाको वाचा: डुवान रोकथाम र सिंचाई व्यवस्था सुनिश्चित गर्छु

बुधबार, फागुन ६, २०८२

बाँके । नेपाली कांग्रेसको बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले राप्ती नदिका कारण उत्पन्न डुवान र कटानको सवाल प्राथमिकतामा रहेको उद्घोष गरेका छन् ।  डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा  आयोजित नेपाली कांग्रेस वडा स्तरिय भेलालाई सम्बोधन गर्दै कोइरालाले सो कुरा बताएका हुन् ।

 राप्तीको बाढीका कारण वर्षौदेखि खेती योग्य जमीन डुवान र कटान भइरहेको भन्दै उनले डुबान नियन्त्रण र कटान रोकथामका लागि आवश्यक पहलकदमी लिने विश्वास दिलाए । युवा नेता कोइरालाले डुडुवाको समग्र समस्याबारे आफू जानकार मात्र नभई संवेदनशील र जिम्मेवार रहने समेत दाबी गरे ।

उनले डडुवाको कृषि उत्पादन वृद्धिका लागि उचित सिंचाई र मलखादको व्यवस्थाका लागि समेत आफू प्रतिवद्ध रहेको बताए । राजनीतिमा संस्कार र इमान्दारिता पनि जरुरी रहेको बताउँदै उनले आफू त्यो संस्कारबाट दिक्षित भएको उल्लेख गरे । समाजसेवा गर्नका लागि राजनीतिमा आएकाले जनताको हरेक सवालमा आफू समर्पित रहने उनको जिकिर थियो । 

उनले भने–‘यहाँहरुले विश्वास गरेर मलाई सांसदमा जिताउनुस्, त्यो विश्वासलाई म शीरोधार्य गर्नेछु ।’ अनेकन स्वार्थले पार्टीहरु खोल्ने, टुट्ने र फुट्ने भइरहेको प्रसंग कोट्याउँदै उनले भने–नेपाली कांग्रेसप्रति जनताको अपार विश्वास र माया रहेकाले आफू जित्नेमा विश्वस्त छु ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्