नरैनापुरमा जाली नोट पहिचान सम्बन्धि सचेतनामूलक कार्यक्रम

मंगलबार, फागुन ५, २०८२

बाँके । नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालयले जाली नोट पहिचान सम्बन्धि सचेतनामूलक कार्यक्रम नरैनापुर गाउँपालिकामा सम्पन्न गरेको छ। बैंकले वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो।

नरैनापुर गाउँपालिका-६ स्थित जय किसान मावीमा आयोजित  कार्यक्रममा राष्ट्र बैंक नेपालगन्ज  कार्यालयका निर्देशक नारायण प्रसाद पोखरेल, उपनिर्देशक भिमार्जुन शाह तथा सहायक निर्देशक किरण दीक्षित ले नक्कली नोट कसरी पहिचान गर्ने भन्ने विषयमा सहजीकरण गरेका थिए।

उनीहरूले सक्कली नोटमा रहेका सुरक्षा विशेषता, पानीछाप (वाटरमार्क), सुरक्षातन्तु (सेक्युरिटी थ्रेड), उभिएको छपाइ (इम्बोस प्रिन्ट), रंग परिवर्तन हुने मसी लगायतका विशेषताबारे जानकारी दिएका थिए। साथै नक्कली नोटको कारोबार वा प्रयोग गरेमा प्रचलित कानुन बमोजिम जरिवाना तथा कैद सजाय हुन सक्नेबारे पनि सचेत गराइएको थियो।

कार्यक्रममा नरैनापुर गाउँपालिका-६ का वडाध्यक्ष प्रेम चन्द्र मौर्य , विद्यार्थी, शिक्षक , स्थानीय व्यापारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले जाली नोटबाट जोगिन आवश्यक सावधानी, बैंक तथा सम्बन्धित निकायमा सूचना दिने तरिका लगायतका विषयमा जिज्ञासा राखेका थिए।

नेपाल राष्ट्र बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै वित्तीय अपराध न्यूनीकरण तथा जनचेतना अभिवृद्धिमा जोड दिने जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्