सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज। ४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार हुन्। अब्बल राजनीतिक संस्कारमा हुर्किएका शुधान्सु मृदुभाषी, सरल र सहज पनि छन् । कठोर, संघर्षपूर्ण र नेतृत्वदायी राजनीतिक विरासत बोकेको गौरबशाली कोइराला परिवारका सदस्य शुधान्सु २०३८ सालमा नेपालगञ्जमा जन्मिए । नेपालगञ्जमै हुर्के बढेका कोइराला त्यस्ता भाग्यमानी पात्र हुन्, जसले सहोदर ठूलो-बुवा, बुवा र आमाबाट राजनीतिकरुपले दिक्षित हुने अवसर पाए । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सानिध्यतामा राजनीतिक संस्कार सिकेका शुधान्सु आँखामा सपना र मनमा अठोट बोकेर हिँडेका जोशिला युवा हुन् ।
बुवा स्वर्गीय डा. अरुण कोइराला र आमा किरण कोइरालाका सुपुत्र शुधान्सु, २०७० मा सक्रिय राजनीतिमा होमिए । शुधान्सु त्यस्ता सुपुत्र हुन् जसले आमाबुवा दुबैले बाँके कांग्रेसको नेतृत्व गरेको हेरे, अनुभूत गरे र त्यही पदचापलाई पछ्याउँदै राजनीतिक रुपमा अघि बढे । बैंकका जागिरे कोइराला पारिवारिक राजनीतिक लय समाउँदै 'पूर्णकालीन राजनीतिक' मैदानमा होमिएका हुन् । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि गठन भएको सरकारको नेतृत्व तत्कालीन कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाले सम्हालेपछि उनी सचिवालयमा खटिए । त्यहीँबाट राजनीतिक उडान भरेका कोइराला निरन्तर अघि बढिरहेका छन् । सुरुमा तरुण दलमा आबद्ध कोइरालाको लोकप्रियता १३औं महाधिवेशनमा मापन भयो, जसबाट उनी सर्वाधिक लोकप्रिय मतका साथ जिल्ला कार्यसमितिमा प्रवेश भए । जिल्ला सदस्य भएपछि नेता कार्यकर्तासंगको सम्बन्ध र सम्पर्कलाई मूल मन्त्र बनाएर अघि बढेका कोइराला १४औं महाधिवेशनमा सचिव निर्वाचित भए । त्यसपछि उनको राजनीतिक एवम् सांगठनिक गति अझ तेज बनेर गयो ।
तरुण दलको पार्षद बनेर अघि बढेका शुधान्सु अब नेपालगञ्ज र डुडुवाको स्वर्णीम भविष्य कोर्न जनप्रतिनिधि बन्ने हुटहुटीका साथ प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ अनुहारका रुमपा उनी आएका छन् । नेपाली कांग्रेस विशेष महाधिवेशनपछि नयाँ नेतृत्वसहित सुधारिएर आएपछि कोइराला जस्ता थुप्रै युवा नेताहरुले पनि अवसर पाएका छन् । अग्रजलाई सम्मान र अनुजलाई प्रेमभाव प्रकट गर्न सिपालु कोइराला नेपालगञ्ज क्षेत्रका सम्भावना बोकेका जुझारु नेता हुन् । बेदाग कोइराला संस्कारी त छन् नै, आत्मविश्वासी पनि छन् । समाजशास्त्रमा स्नातकोत्तर कोइराला संसदीय राजनीतिको अनुभव बटुल्दै जनसेवाको दायरालाई फराकिलो बनाउन जनतामाझ छन् । वीपी अध्ययन प्रतिष्ठान नेपाल बाँकेका अध्यक्ष समेत रहेका कोइराला नेपालगञ्ज र डुडुवाको विकास र समृद्धिमा आफ्नो राजनीतिक भविष्य देख्छन् ।
जनतालाई जनार्दन ठान्ने कोइराला जनताको सुखदुःखमा सधैं संगसंगै हुन्छन् । "मलाई विश्वास छ, मतदाताले मलाई रोज्नुहुन्छ, मलाई रोज्दा उहाँहरुलाई पछुतो हुनेछैन, जनताको विश्वास र भरोसा टुट्न दिँदैन"।
उन्नत लोकतन्त्र र संविधानका लागि साढे सात दशकदेखि निरन्तर लड्दै आएको ऐतिहासिक र जिम्मेवार पार्टीको एक सदस्य हुन पाउँदा आफू गौरबान्वित भएको कोइराला बताउँछन् । स्वर्गीय सुशील कोइरालाको निष्ठा र इमानयुक्त राजनीतिक पुँजीले सिञ्चित परिवारको सदस्य हुनुमा पनि उनी गौरब गर्छन् । शुधान्सु भन्छन्, "सुशील बुवाको निर्वाचन क्षेत्रमा चुनाव लडेर जनताको सेवक बन्ने अवसर पाएको छु, आम मतदातालाई किञ्चित निराश बनाउँदैन ।" सामाजिक र सांस्कृतिक क्रियाकलापहरुमा सहजै सरिक हुने कोइराला क्षेत्र नम्बर २ बासीका लागि नयाँ नाम होइन ।