सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण प्रसाद गौडेल अहिले घरदैलो अभियानमार्फत जनताको बीचमा व्यस्त छन् । मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्नो विकासका एजेन्डा, स्थानीय समस्या समाधान र बदलिएर आएको काँग्रेसप्रतिको विश्वासबारे धारणा राख्दै आएका छन् । प्रस्तुत छ, गौडेलसँग गरिएको कुराकानीको मुख्य अंशः
काँग्रेसको चुनावी अभियान कस्तो चल्दै छ?
नेपाली काँग्रेसको चुनावी अभियान अत्यन्त उत्साहजनक र जनतामैत्री ढंगले अघि बढिरहेको छ । हामीले घरदैलो, टोलभेला, भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छौं । अहिले जनतामा परिवर्तनको चाहना प्रष्ट देखिएको छ र काँग्रेसप्रति विश्वास पनि बढेको छ । त्यसैले अभियान दिनदिनै सशक्त बन्दै गएको अनुभूति मैले गरेको छु । गगनकुमार थापा नेतृत्वमा आइसकेपछि कार्यकर्तामा उत्साह थपिएको छ।
बदलिएर आएको काँग्रेसप्रति नागरिक के भन्छन्?
अहिलेको काँग्रेस आत्मसमिक्षा गरेर नयाँ ऊर्जा, नयाँ सोच र नयाँ नेतृत्वसहित अघि बढिरहेको छ । नागरिकले पनि “काँग्रेस सुध्रिएको छ । अब देशलाई सही दिशामा लैजान सक्छ” भन्ने विश्वास व्यक्त गरिरहेका छन् । हामीले त्यो विश्वासलाई काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता गरेका छौं ।
तपाइँ उम्मेदवारका रुपमा मतदातामाझ जाँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ?
म मतदातामाझ पुग्दा धेरै सकारात्मक प्रतिक्रिया पाएको छु। नागरिकले “हाम्रो सुखदुःखमा साथ दिने, विकासको काम गर्ने, सुशासन दिने नेता चाहियो” भन्ने अपेक्षा राखेका छन् । धेरैले काँग्रेसबाट आशा राखेका छन् र मलाई व्यक्तिगत रुपमा पनि विश्वास प्रकट गरेका छन् । यसले मलाई थप जिम्मेवार बनाएको छ। अर्को कुरा म सधैं नागरिककै सुखदुःखमा रहे । उनीहरुले भुइँ मान्छेका रुपमा लिन्छन् । निष्कलंक, पारदर्शी नेताका रुपमै लिएको मलाई महसुस भएको छ ।
तपाइँका एजेन्डा के छन्?
मेरो मुख्य एजेन्डा समग्र बाँके क्षेत्र नम्बर १ को समुन्नत विकास हो । कृषिको आधुनिकीकरण र बजार सुनिश्चितता, युवाका लागि रोजगारी सृजना शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक, सिंचाई र आधारभूत पूर्वाधारको विस्तार, सुशासन र पारदर्शिता यी सबैलाई प्राथमिकतामा राखेर मैले आफ्नो योजना बनाएको छु ।
बाँके क्षेत्र नम्बर १ का मुख्य समस्या के हुन् ?
यस क्षेत्रका प्रमुख समस्या भनेको बेरोजगारी, कृषि उत्पादनको उचित बजार अभाव, सडक तथा सिंचाई, पूर्वाधारको कमी, शिक्षा र स्वास्थ्य सेवाको कमजोर पहुँच र सीमावर्ती क्षेत्रका कारण उत्पन्न भएका सामाजिक आर्थिक चुनौतीहरु हुन् । त्योसंगै बाँके राष्ट्रिय निकुञ्जका कारण वन्यजन्तुबाट पनि नागरिकहरु आक्रन्त बनेका छन् । यी समस्याको समाधानका लागि दीर्घकालीन योजना र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक छ । त्यसका लागि स्वभाविक रुपमा मेरो नेतृत्वदायी भूमिका हुन्छ ।
बाँके राष्ट्रिय निकुञ्जका कारण नागरिकले दुख पाए भन्ने छ, मतदाताले पनि यो सवाल उठाएका छन् नि ?
हो, यो निकै संवेदनशील विषय हो। बाँके राष्ट्रिय निकुञ्जको संरक्षण आवश्यक छ तर त्यसका कारण स्थानीय नागरिकको जीवन प्रभावित हुनुहुँदैन। बस्ती, खेतीपाती र जनजीवनमा परेको असरलाई ध्यानमा राखेर उचित व्यवस्थापन गर्नुपर्छ । स्थानीयलाई क्षतिपूर्ति, वैकल्पिक व्यवस्था र सहजीकरणको नीति लागू गर्नुपर्ने आवश्यकता छ। यो मुद्दालाई मैले प्राथमिकतामा राखेको छु । राष्ट्रिय निकुञ्ज ऐन संशोधन गरेर जनतामुखी बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु ।
तपाइँलाई किन जिताउने ?
म जनताको प्रतिनिधि भएर काम गर्न चाहन्छु, शासक भएर होइन । मेरो प्रतिबद्धता भनेको इमान्दारी, पारदर्शिता र विकास हो । म सधैं जनताको बीचमा रहेर काम गरे । स्थानीयका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने नेता बन्न चाहन्छु । म पदमा नहुँदा पनि नागरिकका थुप्रै कामहरु गरेको छ । त्यसैले मतदाताले मलाई विश्वास गरेर जिताउनु भयो भने, म उहाँहरुको भरोसा टुट्न दिने छैन ।