बाँके–३ मा विकासप्रेमी उम्मेदवार सुमन मल्लप्रति बढ्दो जनसमर्थन

सोमबार, फागुन ४, २०८२
Honor 600 pro

बाँके  । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, बाँकेमा नेकपा (एमाले) का उम्मेदवार सुमन मल्ल यतिबेला चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय मल्ललाई मतदाताले सहयोगी, विकासप्रेमी र शिक्षाप्रति विशेष चासो राख्ने नेताका रूपमा चिन्ने गरेका छन्।

स्थानीय तहमा रहेर काम गरिसकेका मल्लले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र विपन्न वर्गको उत्थानका क्षेत्रमा उल्लेखनीय पहल तथा योगदान गरेका थिए। विशेषगरी आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग, बिरामीलाई उपचारमा सहजीकरण तथा गाउँ–बस्तीमा साना- ठूला विकास आयोजना अघि बढाउन उनले भूमिका खेलेको समर्थकहरूको दाबी छ।

चुनावी अभियानका क्रममा मल्लले बाँके–३ लाई शिक्षा, कृषि, रोजगारी र स्वास्थ्य तथा विकासका सवालमा नमूना क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन्। उनले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने, किसानलाई उत्पादनमा सहुलियत र बजार सुनिश्चित गर्ने तथा स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने योजना अघि सारेका छन्।

“राजनीति सेवा गर्ने माध्यम हो, कमाउने होइन,” भन्ने नारासहित मैदानमा उत्रिएका मल्लले जनताको भरोसा जित्ने विश्वास व्यक्त गरेका छन्। मतदातासँग घरदैलोमा भेटघाट गर्दै उनले विगतका काम र आगामी योजनाबारे जानकारी गराइरहेका छन्।

 

बाँके–३ मा यसपटक प्रतिस्पर्धा रोचक देखिए पनि एमाले कार्यकर्ताहरू सुमन मल्लको जित सुनिश्चित रहेको दाबी गरिरहेका छन्। विकास, सुशासन र जनसेवालाई मुख्य एजेन्डा बनाएका मल्ललाई मतदाताले कत्तिको साथ दिन्छन् भन्ने चासो बढेको छ।

 

बाँके–३ नम्बर क्षेत्रमा कुल २२ जना उम्मेदवार मैदानमा छन् । एमालेबाट सुमनसँगै नेपाली कांग्रेसका अमरसिंह पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, नेपाली कम्युनिस्ट पार्टीका दीपक जीएम लगायतका उम्मेदवार प्रतियोगी रहेका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्